नयाँ पत्रिका दैनिक- बैशाख १९,
काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् ।
२८ र २९ वैशाखमा मोदी नेपाल आउने तय भएको छ । नेपालसँग नाकाबन्दीपछि निम्तिएको तीतोपना पूर्ण रूपमा मेटाउने उपाय दिल्लीमा राजनीतिक र प्रशासनिकस्तरमा भइरहेको छ । भ्रमणमा मोदीले दिने भनिएको आकर्षक सहयोग प्याकेज के गर्ने अझै निश्चित भइसकेको छैन । भारतको नेपाल नीतिका जानकार डा। निहार नायकका अनुसार मोदीको पहिलो नेपाल भ्रमण ९२०७१ साउन०को जस्तो सम्बन्ध नेपालसँग बनाउने गरी दिल्लीमा कसरत भइरहेको छ । ‘भारतले नेपाल मात्र होइन, समग्र छिमेक नीतिकै समीक्षा गरिरहेको छ । प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि नेपालसहितका अन्य देशमा होइन, अब पाकिस्तानसँग पनि सम्बन्धमा नयाँपन आउने सम्भावना देखिन थालेको छ,’ नायकले नयाँ पत्रिकासँग भने ।
आगामी अगस्टमा सांघाई कोअपरेसन अर्गनाइजेसनको आयोजनामा रुसमा भारत र पाकिस्तान संयुक्त सैन्य परेडमा सहभागी हुने तय भएको छ । यसलाई भारत–पाकिस्तान सम्बन्ध सुधारको संकेतका रूपमा बुझ्नुपर्ने र यसबाट भारतको दक्षिण एसिया नीतिमा नै परिवर्तन आउन सक्ने अर्थमा बुझ्नुपर्ने नायक बताउँछन् ।
जानकारहरूका अनुसार छिमेकसँग सम्बन्ध सुधारका लागि मोदी सरकारमाथि भारतभित्रै चर्को दबाब बढेको छ । दक्षिण कोरिया र उत्तर कोरियाको पछिल्लो वार्ताले भारत र पाकिस्तान सम्बन्ध सुधारमा थप दबाब सिर्जना गरेको बुझाइ जानकारहरूको छ । चीन मामिलाविज्ञ विजयकेशव गोखले विदेशसचिव बनेपछि मोदी सरकारको चीन नीतिमा पनि देखिने गरी सुधार आएको छ । चीनसँगको सम्बन्धले भारतको समग्र छिमेक नीति र विशेषगरी नेपाल नीतिमा पनि दीर्घकालीन परिवर्तन आउने नायकको विश्लेषण छ ।
‘०७१ मा भारतीय प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मोदीले पारेको सकारात्मक प्रभाव पुनस्र्थापना गर्न चाहन्छन्,’ नेपाल भारत सम्बन्धका अर्का जानकार पूर्वमेजर जनरल अशोक मेहताले नयाँ पत्रिकासँग भने ।