दयाहाङ र प्रदीपको स्टारडम भिडन्त

202

चैत ३०,
काठमाडौं । शुक्रबारको रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । निकै चर्चा र तामझामका बीच फिल्म ‘लिलिबिली’ र ‘नेप्टे’ दर्शकमाझ आएका छन् । पछिल्लो पुस्तामाझ लोभलाग्दो फ्यान फलोइंग बनाएका युवा स्टार प्रदीप खड्का जोडिएका कारण ‘लिलिबिली’ निर्माण अगावैदेखि चर्चामा थियो । अझ, गीतसंगीत र ट्रेलरले फिल्मको हाइप निकै बढाएको छ । मल्टिप्लेक्समा उच्च शो पाएको यस फिल्मलाई देशभर करीब ७५ बढी स्क्रिन मिलेको छ । प्रदीपको क्रेज र फिल्मको हाइपका कारण ‘लिलिबिली’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ ।
यस फिल्मको ओपनिङ कस्तो हुने भन्ने चर्चा सिनेवृतमा खुब बढेको छ । फिल्म सिंगल थियटरसँगै मल्टिप्लेक्स दर्शकको लागी बढि प्राथमिकता हुनेछ । मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीपका अलावा जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

यस्तै, यस वर्ष ‘घामपानी’, ‘कान्छी’ र ‘मिस्टर झोले’ जस्ता सफल फिल्म दिइसकेका अभिनेता दयाहाङ राई अभिनीत ‘नेप्टे’ पनि दर्शकमाझ प्रतिक्षीत फिल्म हो । गीतसंगीत र कमेडी ट्रेलरका कारण फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता देखिएको छ । यसमा दया भिलेन अवतारमा प्रस्तुत भएका छन् । देव कुमार श्रेष्ठ निर्देशित यस फिल्ममा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाललगायतका कलाकारहरुको लिड रोल छ । नयाँ बर्ष २०७५ को छेकोमा प्रदर्शनमा आएका दुबै फिल्म दर्शकको रोजाईमा पर्ने अनुमान फिल्म पण्डितहरुको छ । प्रदीप खड्काको नाम जोडिनु नै कुनै पनि फिल्म सफलताको पहिलो हतियार बनेका उदाहरण अनि दयाहाङको क्रेजका कारण दुबै फिल्ममा दर्शक तान्ने सामर्थ रहेको बिश्लेषण गरिएको छ ।