‘मौसम बदलिए पनि मेरो दिन बदलिएन’

निबन्धः मौसम बदलिए पनि मेरो दिन बदलिएन

725
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

-जानू काम्बाङ्ग लिम्बू
२५ मार्च २०१८ को आईतबार, अथवा बेलायतमा समर समय परिर्वतन भएको दिन । बिहानलाई सम्झंदा यस्तो लाग्छ कि, सुटुक् सुटुक फेरिंदै आउने समयले घुम्दै फिर्दै आएर हाम्रै उमेर चोर्दै अरुलाई धमाधम मुब्ध्मा बाँडी रहेछ, र नयाँ नयाँ अनुहार जन्माउँदै पुरानो अनुहारका पाना च्यात्दै, थन्काई रहेछ डाँडा, पाखा, खोला अनि बगरका सुसेलीहरुमा । हामी समयको डमी हौँ, उसले निर्देशन गरेको बिसाल एउटा चलचित्रको पात्र हौँ । ऊ आफ्नो निर्देसनमा हाम्रो जिन्दगीलाई समेटेर कयौं चलचित्रहरु निर्माण गरिरहेछ । मलाई आज फेरि सबेरै ब्युझाएर, मेरो जिन्दगीको अर्को दिन थप्दै नयाँ नौलो कहानी बनाई रहेछ । म उसकै निर्देशनमा आफ्नो नित्य कर्म सकी निस्कंदैछु । अर्को एउटा साँझ खोज्न जिन्दगीको उन्मुक्त यात्रामा । म भर्खरै ब्युञ्झिएको छु । फ्रेस अनि नयाँ पालुवा झैँ देखिन्छु । थकानाहरु दुर, दुर सपनाको नगरीमै छाडेर उठेको छु । तर, एकछिन पछि म फेरि, पुरानो हुँदै जानेछु, थाक्दै जानेछु र त्यहाँ एउटा अर्को साँझ थपिने छ मेरो जिन्दगीमा अर्को एउटा नयाँ बिहानी जन्माउन ।
मोबाईलको घडीमा अटो टाईम् मिल्ने हुनाले, बिहानको ६ बजिसकेको छ तर, भित्तामा झुन्डिएको घडी भने हिजोको समयमा आज खोज्दै, बाटो अल्मलिएको यात्री झैं अल्मलिरहेको छ । लाग्छ छ्क्छ्क..छक्छक्क गर्दै ऊ पनि मेरो अघि अघि दौडी रहेको छ । अर्को बर्ष भित्राउन । तर, जति दौडे पनि, १ घण्टा अघि हिडेको नयाँ समयलाई भेट्न सकिरहेको छैन बिचरा पुरानो समयले । बिचरा यो मानेमा भन्दैछु कि पछि परेको हर चिजलाई हामि विचारै भनेर सम्बोधन गर्छौँ । जस्तै ओरालो लागेको मृग, झर्दै गरेको पÞmूल अनि लड्दै गरेको वस्तु । बर्ष भरिलाई पुग्ने माना, चामल, बोकेर पर्देसी, परदेस हिडे झैँ गरि नयाँ जोस, जाँगर र उमंगहरु बोकेर नयाँ समय आईपुगेको छ मेरो आँखाको पर्दा उघार्न तर, मलाई भने उठ्ने मनै छैन । मन ब्युँझिए पनि आँखाहरु ब्युँझन मानिरहेका छैनन । न्यानो सिरकको अंगालोमा ब्यर्थै आँखा चिम्लेर प्याउलो सरिर लडि़ बसेकोछ । साथमा आमा पनि छैनन, बा पनि छैनन, सबेरै उठ छोरी, स्कुल जानु पर्छ ? कसले भन्ने र त्यो उमेर पनि रहेन अब । सोच्दा पनि प्यारो र आनन्द लाग्ने बा–आमाका ति आवाज, आ हाहा.. हिजो अनि अस्ति जस्तो लाग्ने ति बाल्यकालको सुन्दर बालसुलभहरु । प्यारो लाग्दा लाग्दै कति चाडै दुर दुर भएर गए, सम्झिन्छु म अचेल, बिदेसिनु अघि मनभरि ह्वारह्वारती बलेका रहर र तारा जून झैं मनमा टल्केका सपनाहरु । सायद ,२ सय ५५ जति पुरा भए होलान् । बाँकी ७सय ५५ सपनाहरु मनमै निभेर गए । निदाएर देखेको सपना एकपल्ट कसैलाई भने पछि सकिन्छ तर, ननिदाई कन मनले देखेको सपना भने कसैलाई भनेर पनि नसकिने पुरा पनि नहुने मनमै बसेर मुटू पोलिरहने हुँदा रहेछन् । जस्तै मलाई धेरै पढ्ने र केहि बन्ने भन्ने सपनाले अझै पनि सताउँछ सपना, बिपना । किताब बोकेर कलेज गएको, परिक्क्षा लेखेको आदि ईत्यादि अझै देख्ने गर्छु ।

 

हाँस्ने ठाउमा हाँसियो रुने ठाउँमा रुईयो तर, हँसाएर जानेले भन्दा रुवाएर जाने सपनाहरुले धेरै कुरो सिकाएर गए । आज भन्न् मन लाग्छ धन्य छ त्यो समयलाई जसले मेरो मुटु रेटेर चर्चारती नुन चूक छर्केर गयो । म धेरै नै दुखि भएँ त्यो पलहरुमा, तर त्यहीबेला झरेको आँशुले पखाल्यो क्यारे मेरा सारा दुखहरु, आज छुइन दुखि र हतपत आँशु नि झर्दैन, धेरै नै बलियो पो बनेकी छु कि जस्तो लाग्छ अचेल । आँशु मान्छेको कमजोरी हुँदो रहेछ, तेसैले समय र परिस्थिति सँग लड्न छ भने आँशु होइन हिम्मत बटुल्नु पर्छ ।

 

धेरै बर्ष अघि बुढा मावला जाँदा एउटा ज्योतिषी कहाँ पुगेकी थिएँ सायद । एस. एल सी दिएर बसेको बेला हुनु पर्छ । उसले सबै कुरो राम्रो राम्रो भनेर मेरो चित्त बुझाए पनि मेरो पढाई लेखाई पट्टिको भाग्य भने बुधग्रहले रोकिदिएको कुरो गर्यो । त्यो बेला म निक्कै उत्साहित थिएँ अझै पढ्छु लेख्छु भनेर तर, त्यो कुरो सुनेपछि मैले जति कोसिस गरे पनि हुन् भने दुख किन गर्नु भन्ने लाग्यो । तेस्पछि मैले पढ्न लेख्न छाडेर जिन्दगीको नौलो यात्रा सुरु गरें । समय बित्दै गयो, बल, बैंश र उमेर भईन्जेल जिन्दगी फूल जस्तै लाग्थ्यो । बिस्तारै समय बित्दै गयो, बच्चा बच्ची भए अनि जिन्दगीका आबस्यक्ता र ब्यबहारले लुडो खेलको सर्पले गोटी निलेझै जिन्दगीका शुखहरु निल्दै लग्यो । हामी बिदेस पुग्यौं उज्यालो सपनाहरु टिप्न किन कि विदेसमा त पैसा रुखमा फल्छ जस्तै लाग्थ्यो । यसरी पैसा टिप्ने क्रम हंगकंग मा १२ वर्ष जति चल्यो त्यहाँ टिपेको पैसाले हाम्रो आर्थिक स्थितिमा धेरै परिबर्तन ल्यायो तर, अर्थ साश्त्रको सिदान्त जस्तो चाहाना पुरा कहिले नहुँदो रहेछ । तेस्पछि हंगकंङ्ले पुरा गर्न नसकेका सपनाहरु युके तिर छरिएको सपना खुल्ला मन र आँखाले खुलेआम देख्न थाल्यो अनि आईयो बाँकी सपना टिप्न भल्ड़ाङ्ग भूलडुंग, झोली तुम्बी बोकेर बेलायत । तर, यहाँ आएर फेरि घरजम काम दाम दुनिया गर्नु पर्दाको दुखले सपनाहरु टाढा भाग्न थाले अनि जिन्दगी काँडा लाग्न थाल्यो  । यहाँ आएर बिताएको समयको खासै हिसाब छैन, तर, समय त बितेकै छ आज जस्तै हरेक बर्ष परिबर्तन हुँदै । बितेर जाने कति पलहरुले हँसाएर गए, कतिले रुवाएर  । हाँस्ने ठाउमा हाँसियो रुने ठाउँमा रुईयो तर, हँसाएर जानेले भन्दा रुवाएर जाने सपनाहरुले धेरै कुरो सिकाएर गए । आज भन्न् मन लाग्छ धन्य छ त्यो समयलाई जसले मेरो मुटु रेटेर चर्चारती नुन चूक छर्केर गयो । म धेरै नै दुखि भएँ त्यो पलहरुमा, तर त्यहीबेला झरेको आँशुले पखाल्यो क्यारे मेरा सारा दुखहरु, आज छुइन दुखि र हतपत आँशु नि झर्दैन, धेरै नै बलियो पो बनेकी छु कि जस्तो लाग्छ अचेल । आँशु मान्छेको कमजोरी हुँदो रहेछ, तेसैले समय र परिस्थिति सँग लड्न छ भने आँशु होइन हिम्मत बटुल्नु पर्छ । आत्मबल बलियो भयो भने समय आफै झुकेर आउँदो रहेछ, हुन त यो नितान्त मेरो सोंचाई मात्र हुन सक्छ ।

बाहिर चिसो छ, बेलायतमा समर होइन विन्टर लागेको छ, किन कि अस्तिको हप्ता मात्र हिउँ परेर जम्मै सेताम्मे थियो । तेसैले, होला समर टाईम लागेपनि समर महसुस गर्न पाईरहेका छैनौँ । सबेरै चाँदनी रातले दिन जन्माई सकेको छ  । जमिनभरि छरिएको घामको सुनौलो किरण थुतुनोले टिपेर चिरबिराउँदै चराहरु रुख माथि ओसारी रहेका छन् । बशन्त अन्माएर भित्र्याउन बाटो छेउछाउका रुखहरु पालै पालो पातको माला गाँस्दै, फूलमा रंग भरिरहेका छन् । बिहानीको मिर्मिरेमा उषाको लाली बोकेर घाम जन्ती बन्न ओर्लिएको छ । म अलिकति घामको फूल सिरमा स्युरिएर बाटोमा लखरलखर हिडी रहेकी छु । म सँग हर दुख शुखमा साथ दिने छाँया छ, ऊ मलाई संधै बेसुरमा पछ्याई रहन्छ, गन्तप्य दुबैको मिल्ने भएर होला हामी कहिले बिछोडिनुको पिडामा छटपटीएका छैनौ । समयले खोसेका कति खुशीहरु फूलफिल गर्न मलाई पक्कै केहि समय लाग्यो तर, पनि सकारात्मक रूपले जीवनमा सबै दुख शुख स्वीकार्ने हो भने आफूमाथि झरेको पहाड पनि हलुङ्गगो लाग्दो रहेछ । आफुलाई पर्दा जहिले धेरै दुख मान्ने मान्छेको जात, सानो दुखले पनि दुखाउने त गर्छ नै ।

जिन्दगीमा जुनै पनि घटना या समस्याले समाधानको बाटो पनि तय गरेरै आएको हुन्छ ्र तेसैगरी मेरो पनि जीवनमा ठुल्ठुलो घटना या दुख त आई नपरे पनि साना तिना दुख शुखहरु आउने जाने क्रम जारि नै छ । दुख शुख जे आएपनि पाखुरा सुर्केर सामना गर्ने हिम्मत राख्नु पर्छ भन्नु हुन्थ्यो मेरो बोजू । त्यो बेला एउटा कानले सुनेर अर्को कानले उडाएको, बोजुको त्यो समिक्क्षा मलाई आज बहुत अमुल्य लाग्ने गर्छ । बाबा पनि जहिले भन्नु हुन्थ्यो, मान्छेले एकपल्ट पाएको चोलालाई माया गर्नु पर्छ, दुख शुख त आउञ्छ्न जान्छन् जिवनमा । तेस्तै मलाई पनि मेरो जिन्दगी अति प्यारो लाग्छ अचेल, म आफैले मेरो जिन्दगीका पानाहरु पल्टाउँदै जाँदा, सानै देखि मलाई मन पर्ने लेखक चर्चित उपन्यासकार प्रकाश कोबितको कुनै एउटा सुन्दर उपन्यासको सुन्दर पानाका अनुछेदहरु जस्तो लाग्छ । जुन उपन्यासहरु म, आफ्नो स्कूलको किताब र होम् वर्क सिरानी मुनि लुकाएर राता रात पढ्ने गर्थेँ । हुन त म समय पाएसम्म प्राय सबैको किताबहरु पढ्ने गर्छु तर, त्यो जमानाका, प्रकाश कोबितका उपन्यासहरु सायद ! चन्चले बालसुलभका समयमा पढ़ेकोले होला एकदम आत्मीय लाग्छन् । अचेल, सम्झिन्छु ति बिर्सी नसक्नुका उपन्यासहरु कहाँ गए होलान् के लेखक संगै जलेर गए त ?
जसरि मान्छे मरेर जाँदा उसको लताकपडा र समान पनि संगै जलाईन्छ ? गएको मंसिर २३ गते मैले पनि सब भन्दा प्यारो र नजिकको साथि बाबा गुमाएँ, त्यो दिन बल्ल थाहा पाएँ टाढा परदेस हुनुको पिडा, अफ लाईसेन्स गएर कार्ड किनेर फोन गर्दै बाबा आमाको स्वर सुनेर आनन्द मानेको जस्तो दिन थिएन त्यो दिन मेरो लागि । अंग्रेजी महिनाको डिसेम्बर ९ तारिक सनिबार, २०१७ मेरो लागि कालो हुरी बनेर आएको थियो । घडीमा बिहानको ६ बजेको थियो । मेरो मर्निङ्ग ड्युटी थियो, मैले सेट गरेर सुतेको क्लक घडीले हरेक दिन ईमान्दारी साथ सक्दो कराएर ब्युन्झौँछ मलाई, त्यो दिन पनि ब्युँझायो, म ब्युँझे, अनि तानेर मोबाईल हेर्दा पो थाहा पाएँ । १३ मिस् कल्स र थुप्रै मेसेजहरु आएका रहेछन् । छोरी कविताले लेखेकी थिई प्लिज मुम्मी पिक् अप द फोन ? बाजे सारो हुनु भएको छ । तेसैगरी दुबाई र बेल्जियम बाट भाईहरुले लेखेका थिए, दिदी सुत्नु भा होला फोन उठेन, हामी यहाबाट हिड्यौं, बाबा सारो छ रे, हामीले अक्सिजन दिएर भएपनि हामी आईञ्जेल बचाई राख्नु भनेका छौं । हंसले ठाउँ छोड्यो काप्दै फोन थिचें, फोन उठाएर बोल्न सक्ने हिम्मत कसैको थिएन, रुवाबासी थियो घरमा बल्लैले कान्छा भाईले भन्यो दिदी बाबा अब रहनु भएन । हाम्रो अक्सिजनमा सास रोकिराख्ने सपना सिशा झैं फुट्यो केहि बेरमै ।
फोन राखेर टिकट हेर्न थालें अचानक उड्नु पर्दाको टिकटको दाम मलाई अहिले पनि सम्झन मन लाग्दैन । बुढोको ड्युटी नाईट थियो उहा आईपुग्नु भो टिकट हेर्न लगाएर यता र उति दौड धूप गरेर आफूलाई नेपाल जान सक्ने बनाएँ । माईला भाई दुबाईबाट उड्यो, म युकेबाट, ठूलो भाई बेल्जियमबाट तर, दुख मलाई यस् मानेमा लाग्यो कि ! बाबा आमा मर्दा पनि लास सम्म भेट्न मुस्किल, उड्दा उड्दै बाटैमा २ दिन लाग्ने, एक मनले के बस्नु हो युके जस्तो पनि लाग्यो । बाबा बल्ल ७० को डिल उक्लिँदै हुनु हुन्थ्यो । यति चाडै पितृ सोकमा डुबेकोले पनि होला, हामी टुटेर टाईटनिक झैँ हरायौँ दुखको महासागरमा । त्यहाँ हामी रुयौं करायौं, तर जानेले सुन्दै सुनेन, एकोहोरो पुजारीले फुकेको संखको धून झैँ ऊ बगेर गयो हामी मनभरी सम्झना र आँखाभरी आँशु बोकेर फर्की आयौँ घर । बाबा बिनाको घर, बाबा बिनाको आँगन एकदम सुन्य लाग्यो ्र सोचें माईत आएर फिर्दा आमा भन्दा धेरै रुने बाबा, मलाई देख्दा अँगालो हालेर गालामा मोई खाने बाबा यो उमेरमा पनि मलाई मेरो पूतली भन्दै माया गर्ने मेरो बाबा अब यो दुनियामा रहनु भएन् । सुरुमा विश्वास लागेन बाबा छैन भनेर तर, अन्त्यमा समयको अघि झुक्नै पर्यो । बाबा बितेको आज ४ महिना भएछ । अनि यो बर्षको समर टाईम पनि लागू भएको छ बेलायतमा बेलायत बस्दा बस्दै नानीहरु पनि हुर्किसके, आफै काम गरेर आफ्नो खुट्टामा उभ्ने कोसिश गर्दैछन् ।
जिन्दगीले सोचे जस्तो उन्नति प्रगति गर्न नसके पनि भगवानले कमाएर बिहान बेलुकी छाक टार्ने सरिर स्वास्थ्य राखी दिएकोछ, तेसैमा सन्तुस्ट छु । आजदेखि समर लागेकोछ, समर सिजनको यहाँ छुटै महत्व छ, मज्जा छ । मान्छेको जिन्दगीमा भने खासै समर लाग्दैन यहाँ, कांना गोरुलाई न औँशी, न पुर्ने भनेझैं कोहोरो जोतिनुको बिकल्प छैन । बेलायत बाठो छ हामी बिदेसिहरुलाई जोतेर टेक्स काट्दै उसको आफ्ना अल्सी जनता पाल्छ । छुट्टी बाहेक हरेक दिन, घर रित्तो ढोका बन्द, भूत बस्ने घर जस्तो दिनभर कोहि हुँदन् । बिहान जसरि पालै पालो मान्छे निस्कंदै जान्छौं, तेसैगरी साँझ पनि पालै पालो एक एक गर्दै पस्छौं र खाना पिना बनाएर खाई सुत्छौँ । कहिले कहिँ त घर, घर होइन माहुरीको गुड (माहुरी बस्ने घर ) हो जस्तो लाग्छ । हुन त पर्देसको घर माहुरीको गुडँ, चराको गुडँ, या परदेशि सुत्ने ओढार जे भने पनि हुन्छ । यस्तो काहानी यहाँ घर घर कि काहानी बनिसकेको छ । हिन्दी सिरियलको कहिले नसकिने काहानी जस्तो सायद नमरुञ्जेल हरेक दिन खेताला गरिरहन्छौं र कर पनि तिरिरहंछौँ बेलायतलाई ।

लेखिकाको जन्मथलो ताप्लेजुङ भएपनि कामको सिलशिलामा हालः अक्सफोर्ड बेलायतमा हुनुहुन्छ ।