चैत १६,
काठमाडौं । संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ ।विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो ।
बिहीबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति विद्यादेवी भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो ।
संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै संसदका जानकारहरुले आश्चर्य व्यक्त गरेका छन् । एक नेताले भने, (संसदको अभ्यास र परम्परा कानुन सरह हुन्छ ।संसदमा राष्ट्रपतिले सम्बोधन गर्दा उपराष्ट्रपतिलाई कसरी आसन गराउने सन्दर्भमा विगतमा संसदका महासचिव मनोहरप्रसाद भट्टराई नेतृत्वको टोलीले भारतलगायत विभिन्न देशको स्थलगत अध्ययन गरेको थियो ।भारतमा उपराष्ट्रपतिले माथिल्लो सदनको अध्यक्षता गर्ने चलन रहेको र अन्य देशमा उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै अध्यक्षता गराउने चलन नरहेको भन्दै समितिले प्रतिवेदन तयार पारेको थियो । विगतका सभामुख सुवास नेम्वाङले उपराष्ट्रपतिका लागि बाल्कोनीमा विशिष्ट कुर्सी राख्न लगाएका थिए । सोहीअनुसार पूर्वउपराष्ट्रपति परमानन्द झा र वर्तमान उपराष्ट्रपति पुनले संसदमा उपस्थिति जनाउने गरेका थिए । बिहीबार भने राष्ट्रपतिसँगै उपराष्ट्रपतिलाई कुर्सी राखेर आसन गराइएको थियो ।