कविताः मायालू

304
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

-जानू काम्बाङ्ग

जून बेला आउँछ
मलाई तिम्रो याद
त्यै बेला सम्झौंला
भनि मनमा पोको
पारेर राखेको छु
थुप्रै सम्झनाहरु तिम्रो

म बादल भै
पछ्याउन सक्दिन
फूल भै बस्साउन
पनि सक्दिन
जिन्दगीको गोरेटोहरुमा
घाम भै उदाउन त झन् के सक्थें र ?

तर,
म तिम्रो न्यानो छेक्ने
बादल कदापि होइन
तिमीलाई भिजाउने
बर्षात अनि बगाउने
बाढी पहिरो पनि होइन

झन् काँडा त
कसरी बन्न सक्छु
म तिम्रो जिन्दगीको ?

तिमी त सल्सल्ल
बग्ने संग्लो खोला हौ धर्तिको
स्वतन्त्र उड्ने चरा हौ
निल गगनको
अँगालोमा ईन्द्रेणी पहिरिएर
निस्वार्थ मुस्कुराउने झरना हौ प्रकृतिको
सप्तारंग्गी रंगमा मग्मगाउने
फूल हौ तिमी बसन्तको

म त तेसै तेसै
आज, हिजो अनि अस्ति देखि ब्यर्थै
तिम्रो रुपको निरन्तर….निरन्तर
बयान गरिरहेको छु मायालू

तर, पनि खोई कुन्नी किन हो किन
झर्छन् पानी झैं पोखिएर
पोको पारेर राखेको
कयौं सम्झनाका तरेलीहरु
अन्जान यो आँखाबाट

अनायासै झर्ने ति
कहिल्यै कहिल्यै नरित्तिने
बेहिसाब, बेहिसाब
सम्झनाका तरेलिहरु
जतन साथ् फेरि, फेरि
बटुलेर राख्न
असमर्थ पो छु कि  मायालू
यदि तेस्तो हो भने
मलाई माफ गर ।।

तर,
जुन दिन,
जुन पल,
अनि जुन घडी सम्म
म बाँची रहन्छु
त्यो दिन,
त्यो पल अनि त्यो घडी सम्म
म तिमीलाई सम्झी रहनेछु

तिम्रो सम्झना मनमा
सुरक्क्षित राखेर जिन्दगीको
अन्तिम यात्रामा निस्कने छु
तिमी, ढुक्क भए हुन्छ मायालू ।।

-ताप्लेजुङ्, हाल बेलायत