एमालेमा ५ मन्त्रीका लागि दर्जनौं आकांक्षीको दौडाहा

191

फागुन १८,
काठमाडौं । मन्त्रीको आकांक्षी रहेका एमाले नेता तथा सांसदहरुको नजर प्रधानमन्त्री केपी शर्मा ओलीतिर छ । पार्टी स्थायी कमिटीले नै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको र ओली यसपटक आफू सफल हुने गरी टिम बनाउने मुडमा रहेकाले कसलाई छान्छन् भन्ने अनुमान लगाउन कसैले सकिरहेका छैनन् । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको अवस्थामा एमालेले अब बढीमा ५ मन्त्रालय पाउनेछ । अन्य पार्टीलाई बाँड्दाबाँड्दै एमालेको भागमा मन्त्रालय नै नरहेने अवस्था आएको एक पदाधिकारीले बताए । बढीमा ५ मन्त्रालयका लागि पार्टीमा दर्जनौं सांसदहरुको दौडधूप छ । त्यस्तै पार्टीका प्रभावशाली पदाधिकारी र स्थायी कमिटी सदस्यहरु मन्त्रीको दौडमा छन् ।
एमालेका १४ पदाधिकारीमध्ये उपाध्यक्षत्रय बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सचिवद्वय भीम आचार्य तथा पृथ्वीसुब्बा गुरुङ बाहेक सबैजना मन्त्रीका आकांक्षी हुन् । गौतम र ज्ञवाली सांसद नै छैनन् भने शाक्य, आचार्य र गुरुङ प्रतिनिधिसभामा छैनन् ।अन्य पदाधिकारीमध्ये योगेश भट्टराई बाहेक सबैजना कम्तिमा एकपटक मन्त्री भइसकेका छन् । योगेश भने पहिलोपटक सांसद भएकाले उनी मन्त्री बन्न पाएका छैनन् । ओलीले चुनावका बेला ताप्लेजुङबासीबीच योगेशलाई सांसद बनाएर पठाए आफूले मन्त्री बनाएर पठाउने बचन दिएका थिए ।
अहिले एमालेका कार्यकर्ताले ओलीको त्यहि भाषणको भिडियो सामाजिक सन्जालमा प्रचार गरेर ओलीमाथि दबाव दिइरहेका छन् । पार्टीभित्रको सन्तुलन मिलाउन पनि योगेशलाई ओलीले मन्त्री बनाउने अनुमान छ ।
यसपटक अधिकांश पदाधिकारी मन्त्रीका दाबेदार हुन् । स्थायी कमिटी सदस्यहरुमध्ये सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्मा पनि मन्त्रीका प्रवल दावेदार हुन् ।
पार्टीभित्र ओलीको थिंकट्यांक मानिने प्रदीप ज्ञवाली र शंकर पोखरेलमध्ये पोखरेल ५ नम्बर प्रदेशको मुख्यमन्त्री भइसकेकाले ज्ञवालीलाई मन्त्रिपरिषदमा सामेल गरिने सम्भावना छ । अर्थमन्त्रालयको दावी गरेका ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने शक्तिशाली मन्त्री बनाउने चर्चा पनि चलेको छ । राजश्व अनुसन्धान बिभाग, सम्पत्ति शुद्धीकरण बिभाग, राष्ट्रिय अनुसन्धान बिभाग, समाजकल्याण परिषद जस्ता निकायहरु प्रधानमन्त्री कार्यालय मातहत लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निकै शक्तिशाली बनाइएको छ ।
यसका साथै सबै प्रदेशहरुको विकास समन्वय गर्ने गरी मन्त्रालय खडा गर्ने र त्यो मन्त्रालयको मन्त्री प्रधानमन्त्री निकट व्यक्तिलाई बनाउने तयारी छ ।

मन्त्रीका दर्जनौं आकांक्षी

प्रदेश १ बाट एमालेका दर्जन बढी आकांक्षी भए पनि योगेश भट्टराई र भानुभक्त ढकाल दुवैको नाम बढी चर्चामा छ । प्रदेश १ बाट कांग्रेसको गढ ओखलढुंगामा दुईपटक चुनाव जितेका युवा नेता यज्ञराज सुनुवार पनि मन्त्रीका दाबेदार हुन् । त्यस्तै सुवास नेम्वाङले बसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाव दिइरहेका छन् ।
प्रदेश २ बाट प्रत्यक्ष निर्वाचित सांसद रघ्ुवीर महासेठ र लिलानाथ श्रेष्ठ दुईजनामात्र छन् । महासेठले लबिङ बलियो बनाएका छन् । प्रदेश ३ बाट कृष्णगोपाल श्रेष्ठ, शेरवहादुर तामाङ, गोकुल बास्कोटा, जीवनराम श्रेष्ठ, रामवीर मानन्धर, कृष्णलाल महर्जन मन्त्रीका आकांक्षी छन् । महेश बस्नेतले भने यसपटक आफू प्रधानमन्त्रीलाई सफल बनाउने अभियानमा लाग्ने भन्दै मन्त्रीको दौडमा नरहेको निकटस्थहरुलाई बताएका छन् ।
प्रदेश ४ बाट रविन्द्र अधिकारी सम्भावित मन्त्री हुन् । लगातार तीन पटक चुनाव जितेका अधिकारी अहिलेसम्म मन्त्री नबनेका कारण उनको सम्भावना बढी भएको हो । यो प्रदेशबाटै थममाया थापा मन्त्री भइसकेकी छन् । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्याल पनि मन्त्रीको आकांक्षी हुन् ।
प्रदेश ५ बाट प्रदीप ज्ञवाली मन्त्री भए भने गोकर्ण विष्ट रोकिन सक्छन् । ऊर्जामन्त्री हुँदा लोडेसेडिङ घटाएर लोकप्रिय बनेका विष्ट पार्टी एकता कार्यदलमा छन् । कम्तिमा एक पदाधिकारी मन्त्री हुने भएकाले यो प्रदेशबाट अन्यले मौका पाउने सम्भावना कम छ ।
प्रदेश ६ बाट यसपटक बिभागीय मन्त्री कोही नहुने सम्भावना छ । प्रदेश ७ बाट डोटीका प्रेम आलेलाई मन्त्री बनाउन शीर्ष नेता सहमत भएका छन् । भीम रावल मन्त्री नबन्दा आले मन्त्री बन्ने निश्चित छ ।
आले पनि दुईपटक निर्वाचित सांसद हुन् । उनले यसपटकको चुनावमा भौतिक पूर्वाधार मन्त्री बीरबहादुर बलायरलाई पराजित गरेका छन् । रावलले प्रदेश ७ बाट आफू नहुँदा कैलालीका नारदमुनी रानालाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।
तर रानाको रातो पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले उनको सम्भावना छैन । विशेष अदालतबाट सफाइ पाएका रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको थियो । अनलाइन खबर