पार्टी कमिटीको निर्णय मान्न प्रधानमन्त्री ओलीलाई मन्त्रीहरुको सुझाव

100

असार १७,
काठमाडौँ — सरकारका मन्त्री र नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार शीर्ष नेताहरुसहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि सल्लाहका लागि उनले बोलाएको बैठकमा उनलाई यस्तो सुझाव दिइएको हो । ‘अधिकांश नेता र मन्त्रीहरुले पार्टी कमिटीले गरेको निर्णय स्वीकार्छु भनेर अघि बढ्न सुझाव दिएका छौं,’ कृषि मन्त्री घनश्याम भुसालले ‘ भने । भुसाललगायत केही मन्त्रीले प्रधानमन्त्रीलाई अप्ठेरो परेको खण्डमा आफूहरुलगायत मन्त्रिपरिषद्का आधाजति मन्त्री राजीनामा दिन तयार रहेको पनि बताएका थिए ।

छलफलको सुरुमै प्रधानमन्त्री ओलीले आफूलाई कर्नर गरिएको अपमानित गरिएको बताएका थिए । उनीपछि बोल्दै भुसालले ओलीका विषयमा आफ्नो मूल्यांकन सुनाएका थिए । भुसालले भने, ‘मैले उहाँका बारे मेरो मूल्यांकन पनि सुनाएँ,तपाई बलियो हुँदा लोकतन्त्र कमजोर हुन्छ, तपाईं कमजोर हुँदा राष्ट्रिय हित कमजोर हुन्छ ।’ भुसालले पार्टीकै कारण सत्ता र शक्ति प्राप्त भएको भन्दै म नै सर्वोपरि हुँ भन्ने नसोची पार्टीलाई नै सबैकुरा समर्पण गर्छु भनेर अघि बढ्न सुझाव दिएका थिए । ‘तपाईं कमिटीको कुरा मान्छु भनेर अघि बढ्नुस् कमिटीले सबैको मानमनितो राखिदिनेछ,’ भुसालले आफूले छलफलमा बोलेको बताए ।

छलफलमा सुवास नेम्वाङ, मणि थापा, लेखराज भट्ट लगायतका नेताहरुले पनि पार्टी एकताका लागि प्रधानमन्त्रीले फराकिलो सोच राख्नुपर्ने सुझाव दिएका थिए । बिहीबार ११ बजे बस्ने स्थायी कमिटी बैठकमा पनि राजीनामाकै विषयले प्रधानता पाउने छ । आजको बैठकमा ओली पक्षीय नेताहरुले उनको बचाउमा बोल्ने बताइएको छ । बैठकमा के–कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि भेलामा छलफल भएको थियो । -कान्तिपुरबाट