देशको हित नहुने भयो भन्ने लागे मैले अर्को फड्को हान्न बेरै लाग्दैन ः प्रचण्ड

163

माघ २८,
चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफू हिँडिरहेको बाटोले देशलाई हित नहुने देखेमा अर्को कदम चाल्न आफू तयार रहेको बताएका छन्। महाबौद्ध गुम्बा, तीनखोलेको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताए। राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए। उनले भने, म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु। उनले थपे, “अब प्रचण्ड भनेकै त्यही भइसक्यो। माओवादी भनेकै त्यही भइसक्यो। अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्ने।” देश समुन्नत र समृद्ध बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाइ थियो। उनले भने, शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु। देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर आफू शान्ति प्रक्रियामा आएको बताउँदै प्रचण्डले प्रश्न गरे, १२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्योु एमाले र माओवादीबीच पार्टी एकीकरणमा ढिलाइ भइरहेको बेलामा प्रचण्डको यस्तो भनाइ आएको छ। पार्टी एकीकृत भइसकेपछि प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चित भइसके पनि पार्टी अध्यक्ष को बन्ने भन्ने निश्चित भएको छैन। पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै नेताले बाँड्नुपर्ने माओवादी पक्षको दावी छ। एमालेका दोस्रो तहका नेताहरुले दुबै पद अध्यक्ष ओलीलाई हुनुपर्ने बताइरहेका बेला प्रचण्डको यस्तो भनाइ सार्वजनिक भएको हो।