माघ १७,
काठमाडौं । प्रदेशसभाको निर्वाचन अगाडी नै केही दलका नेताहरुले आफुलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । अहिले त्यो कुरा पुरा गर्न मुख्यत नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु लागि परेका छन् । प्रदेशसभाको वैठकको तयारीसँगै मुख्यमन्त्रीका आकांक्षी पनि दौडधूपमा छन् । एमालले सहमति जुटन नसके आन्तकिर चुनाव मार्फत संसदीय दलको नेता चयन गर्ने र उसलाई मुख्य मन्त्री बनाउने निर्णय गरेको छ । माओवादीले आफ्नो भागमा परेका प्रदेशमा कसरी मुख्य मन्त्री चयन गर्ने भन्ने औपचारिक निर्णय लिएको छैन । अहिलेसम्मको समीकरण अनुसार प्रदेश नम्बर ५ बाट नेकपा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
एमाले ५ नम्बर प्रदेशको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यसअघि नै पोखरेललाई संसदीय दलको नेताका रुपमा चयन गरिसकेको छ । प्रदेश नम्बर १, ३ र ४ मा संसदीय दलको नेता चयन हुन नसक्दा को मुख्यमन्त्री बन्ने भन्ने एमालेमा टुंगो लागेको छैन । एमालले माघ २४ गतको राष्ट्रियसभाको चुनावपछि मात्र ती प्रदेशका संसदीय दलको नेता चयन गर्न निर्देशन दिएको छ । प्रदेश नम्बर १ मा एमालेको नेतृत्व हुने सहमति भएपनि दुई जना आकांक्षी रहेका छन् । नेता शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी रहेका छन् । देश नम्बर ३ बाट एमाले नेताद्वय अष्ठलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य आकांक्षी रहेका छन् । यसो त सानुकुमार श्रेष्ठ तथा केशब स्थापित समेतले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । प्रदेश नम्बर ४ बाट एमाले नेता पृथ्वीशुब्बा गुरुङ तथा किरण गुरुङ आकांक्षी रहेका छन् । प्रदेश नम्बर ६ बाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका दाबेदार छन् । यसैगरी प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहरा रहेका छन् । प्रदेश नम्बर २ मा मधेसी गठबन्धनका ५ जना आकांक्षी रहेका छन् ।
संघीय समाजवादी फोरमका विजय यादव , लालबाबु रावत र शैलेश शाह तथा राजपाबाट जीतेन्द्र सोनल र मनिष सुमन दाबेदार छन् । प्रदेशसभाको पहिलो वैठकको मिति तयसँगै मुख्यमन्त्रीका आकांक्षीको दौडधूप शुरु भएको हो । यता सरकारले प्रदेशसभाको पहलिो बैठककोलागि तयारी तिव्र पारेको छ ।
प्रदेश १ प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं.१ को प्रदेशसभाको पहिलो बैठक बस्ने छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको छ । सभाभवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिने निर्देशनअनुरुप व्यवस्था मिलाइएको छ । मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी राखिनेछ । मञ्चबाहेक एकसय ४० वटा कुर्सीको व्यवस्था गरिएको हो । एकतर्फ सतापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिनेछ । प्रतिपक्षको पछाडिको भागमा सञ्चारकर्मीलगायतको कुर्सी राख्ने व्यवस्था मिलाइएको छ । ती कुर्सीमा सेतो रंगको भर र पिठँयूमा राख्ने क्याप आकासे रंगको हुने छ ।
प्रदेश १ मा एमालेका ५१, काँग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपाका १, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका १ र स्वतन्त्र १ गरी ९३ सांसद छन् ।
प्रदेश २ को जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ । यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए । बैठक भवन वरिपरिका भवनलाई नयाँ रुप दिन कामदार निकै व्यस्त देखिन्छन् । प्रदेश सभाको बैठकका लागि तालीम केन्द्रलाई तीव्रताका साथ बेहुलीलाई झैँ श्रृङ्गार गरिँदैछ । प्रदेश २ मा एमालेका २१, काँगेसका १९, माओवादीका ११, संघीय समाजवादी फोरमका २९, राजपाका २५, नेसस पार्टीका १ र स्वतन्त्र १ गरी १०७ जना प्रदेश संसद छन् ।
प्रदेश ३ माघ १८ गते प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा बस्नेगरी बैठक आह्वान गरेकी छिन् । दिउँसो १ बजे बस्ने बैठकको तयारी भइरहेको छ । बैठकको औपचारिक जानकारी दिन यहाँ आइतबार सार्वजनिक सूचना जारी गरिएको थियो । यहाँ एमालेका ५८, काँग्रेसका २१, माओवादीका २३, राप्रपाका १, विवेकशिल साँझाका ३, नयाँ शक्तिका १, नेमकिपा २ र राप्रपा प्रजातान्त्रिक १ गरी ११० जना सांसद छन् ।
प्रदेश ४ यहाँ माघ २२ गते प्रदेशसभाको बैठक बस्ने तय भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बस्नेगरी बैठक आह्वान गरेका छन् । बैठक बिहान ११ बजे बस्नेछ । बैठकबारे आइतबार औपचारिक सूचनामार्फत जानकारी दिइएको छ । प्रदेश ४ मा एमाले, कांगे्रस, माओवादी केन्द्र, जनमोर्चा र नयाँ शक्ति नेपाल गरी पाँच दलको प्रतिनिधित्व छ । ६० सदस्यमध्ये एमालेका २७, कांगे्रसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सदस्य रहेका छन् । निर्वाचन परिणाम आएको २० दिनभित्र संसद् बस्नुपर्ने नियम भएकाले सोहीअनुसार बैठक बस्न लागेको हो ।
यता प्रदेश ५ प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ। प्रदेश प्रमुख उमाकान्त झाले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बैठक आह्वान गरेको प्रदेश प्रमुख कार्यालय सचिव सनतकुमार दवाडीले जानकारी दिए। बैठक दिउँसो १ बजे बस्नेछ । यो प्रदेशमा एमाले ४१, काँग्रेस १९, माओवादी २०, संघीय समाजवादी फोरम ५, राजपा १, राष्ट्रिय जनमोर्चा १ गरी ८७ सांसद छन् । प्रदेश ६ स् यहाँ पनि माघ २१ गते नै बस्नेछ ।
६ नम्बरको बैठक वीरेन्द्रनगरस्थित सिचाई डिभीजनको कार्यलयमा बस्नेछ । दलहरूबीच जिल्ला समन्वय समितिको भवन वा सिँचाइ डिभिजनको कार्यालयमा पहिलो अधिवेशन बस्ने भन्ने विवाद थियो । प्रदेश प्रमुखको कार्यालयका सचिव भरत ढुंगानाका अनुसार प्रदेश सभाको स्थायी भवन शैक्षिक जनशक्तिको तालिम केन्द्रमा तोकिए पनि अहिले अस्थायी भवन भने सिँचाइ डिभिजन कार्यालयबाट सञ्चालन भइरहेको छ । यहाँ एमालेका २०, काँग्रेस ६, माओवादी १३, राप्रपा १ गरी ४० सांसद छन् ।
प्रदेश ७ माघ २१ गते बैठक बस्ने भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रदेशसभा बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ । प्रदेश सभाकी ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले बैठकको अध्यक्षता गर्ने्छिन् । यस प्रदेश सभामा जम्मा ५३ सदस्य रहेका छन् । जसमा एमाले २५, काँग्रेस १२, माओवादी १४ र राजपाका २ सांसद छन् । नेपालमा नयाँ अभ्यासका रुपमा रहेको प्रदेशसभाका सम्बन्धमा संविधानको भाग १३, १४, १५ र १६ मा क्रमशः प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, प्रदेश व्यवस्थापन कार्य्विधि र प्रदेश आर्थिक कार्यप्रणालीको व्यवस्थाका साथै अन्य धारा एवम् अनुसूचीमा प्रदेशसभासँग सम्बन्धित विषय उल्लेख गरिएको छ ।
संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ । उक्त धाराकै उपधारा २ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने उल्लेख छ ।