चुनाव लड्न प्रअबाट राजीनामा

324

चैत, २८ बागलुङ ।
बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएका छन् । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हालेका प्रअको जिम्मेवारी त्याग गरेका छन्।
आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रसामु राजीनामा बुझाएको शर्माले बताए । बागलुङ नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा ४४ वर्षीया शर्मा आकाङ्क्षी छन् ।“२३ वर्षसम्म निष्ठापूर्वक शिक्षण पेसा गरेँ, अब पार्टीको बफादार सिपाही बन्छु”, शर्माले भने । असल प्रअको राजीनामाले दुःखी तुल्याएको विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य माया थापाले प्रतिक्रिया दिए ।
पाँच सय विद्यार्थीले पढ्ने उक्त विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन शर्माले निजी विद्यालयमा पढ्ने आफ्ना छोराछोरीलाई समेत सोही विद्यालयमा ल्याएर भर्ना गरेका थिए।