आगोले जलेकी बालिकाको उपचारमा समस्या

257

चैत १७,
पर्वत। घरकै चुल्होमा सल्किएको आगोमा परेर गम्भीर घाइते भएकी यहाँकी एक बालिकाको उपचारमा आर्थिक समस्या परेको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ बाजुङकी ६ वर्षीया स्मिता नेपालीको उपचारमा समस्या भएको हो । गत पुस महिनामा चुल्होमा सल्किएको आगोले लगाएका लुगा जल्दा गम्भीर घाइते भएकी बालिकाको अहिले राजधानीको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
विपन्न परिवारकी बालिका घाइते भएपछि उपचारका लागि आर्थिक समस्या भएकाले सहयोग माग्दै सदरमुकाम कुश्माबजार आइपुगेका बालिकाका बाजे काजीमान नेपालीले गुनासो गरेका छन् ।
अहिलेसम्म रु दुई लाखभन्दा बढी रकम खर्च भइसकेको र अझै त्यति नै रकम आवश्यक पर्ने भएकाले सहयोगको खोजीमा भौँतारिएको उनले बताए । छोरा, बुहारी घाइते बालिकाको उपचारका लागि राजधानीमा गएपछि आफू सहयोगको खोजीमा हिँड्नु परेको काजीमानले गुनासो गरे ।
घाइते बालिकाका बाबु लालकाजी र आमा कल्पना गाउँमै मजदुरी पेसा गरेर गुजारा चलाउँदै आएका थिए । शरीरको पूरै भाग जलेका कारण पोखरामा समेत उपचार सम्भव नभएपछि राजधानी लगिएको थियो । गुप्ताङ्ग लगायत भागको घाउ निको हुँदै गएको र अन्य स्थानमा प्लास्टिक सर्जरी गर्नुपर्ने तथा केही भागको शल्यक्रिया अझै बाँकी रहेको परिवारले जानकारी दिएका छन् ।