Monday, September 28, 2026
Home समाचार आगोले जलेकी बालिकाको उपचारमा समस्या

आगोले जलेकी बालिकाको उपचारमा समस्या

279

चैत १७,
पर्वत। घरकै चुल्होमा सल्किएको आगोमा परेर गम्भीर घाइते भएकी यहाँकी एक बालिकाको उपचारमा आर्थिक समस्या परेको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ बाजुङकी ६ वर्षीया स्मिता नेपालीको उपचारमा समस्या भएको हो । गत पुस महिनामा चुल्होमा सल्किएको आगोले लगाएका लुगा जल्दा गम्भीर घाइते भएकी बालिकाको अहिले राजधानीको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
विपन्न परिवारकी बालिका घाइते भएपछि उपचारका लागि आर्थिक समस्या भएकाले सहयोग माग्दै सदरमुकाम कुश्माबजार आइपुगेका बालिकाका बाजे काजीमान नेपालीले गुनासो गरेका छन् ।
अहिलेसम्म रु दुई लाखभन्दा बढी रकम खर्च भइसकेको र अझै त्यति नै रकम आवश्यक पर्ने भएकाले सहयोगको खोजीमा भौँतारिएको उनले बताए । छोरा, बुहारी घाइते बालिकाको उपचारका लागि राजधानीमा गएपछि आफू सहयोगको खोजीमा हिँड्नु परेको काजीमानले गुनासो गरे ।
घाइते बालिकाका बाबु लालकाजी र आमा कल्पना गाउँमै मजदुरी पेसा गरेर गुजारा चलाउँदै आएका थिए । शरीरको पूरै भाग जलेका कारण पोखरामा समेत उपचार सम्भव नभएपछि राजधानी लगिएको थियो । गुप्ताङ्ग लगायत भागको घाउ निको हुँदै गएको र अन्य स्थानमा प्लास्टिक सर्जरी गर्नुपर्ने तथा केही भागको शल्यक्रिया अझै बाँकी रहेको परिवारले जानकारी दिएका छन् ।