सात वर्षपछि बल्ल बिजुली बल्यो

308

चैत १४,
पाल्पा । स्थानीयवासीले २०६६ सालदेखि गाउँमा बिजुली ल्याउन प्रक्रिया सुरु गरे पनि लामो समयसम्म योजना सम्पन्न भएन । जनताको सहभागिता र साविकको जिविस र गाविसको आर्थिक लगानीमा सुरुवात गरेको यो योजनाले सात वर्षपछि सफलता प्राप्त गरेको हो । पालपाको कोलडाँडा सत्यवतीका ९७ वर्षीय खेमबहादुर दर्लामीलाई बिजुलीको उज्यालो बुढेसकालमा देख्न पाउँदा सपना जस्तै लागेको छ । जीवनमा उनले बिजुलीको उज्यालोमा बस्न पाइएला भनेर कल्पना पनि गरेका थिएन् । वृद्ध दर्लामीलाई मात्र होइन युवापुस्ताकी रेनुका दर्लामीलाई दुर्गम र विकट यस सत्यवती गाउँमा बिजुलीको सुविधा आउँछ भन्ने लागेको थिएन । साविक जिविस र कोलडाँडा गाविसको पटकपटक गरी रु ५४ लाख २४ हजार ४९४ र स्थानीय जनताको रु छ लाख ६० हजार गरी कुल रु ६० लाख ८४ हजार ४९४ हजारको लागतमा विद्युत् विस्तार योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष देवसिंह दर्लामीले बताउनुभयो । सत्यवती गाउँका ७७ घरपरिवार बिजुलीबाट लाभान्वित भएका छन् ।