सबै राजनीतिक दल मिल्न चीनको सुझाव

405

चैत १४,
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा जुनसुकै पार्टीले सरकार बनाए पनि ‘एक चीन नीति’ प्रति नेपाल र नेपाली जनता प्रतिबद्ध रहेको बताए। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग बेइजिङमा भएको चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ, इन्टरनेसनल लेइजन विभागका प्रमुख सङ ताओले गरेको छुट्टाछुट्टै शिष्टाचार भेटमा दुई देशको सम्बन्ध प्रगाढ भएको विचार व्यक्त गरेका हुन्। नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रुपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गरेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको नेपाली जनताले हेर्न चाहेको बताएका थिए । सो अवसरमा नेपालको एक चीन नीतिप्रति आभार व्यक्त गर्दै उपप्रधानमन्त्री याङले संविधान कार्यान्वयन एवम् शान्ति प्रक्रियालाई पूरा गर्न सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए । उनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक समृद्धि र विकासका लागि चीन र चिनीया जनताका तर्फबाट निरन्तर सहकार्य हुने विश्वास दिलाएका थिए। त्यसैगरी इन्टरनेसनल लेइजन विभागका प्रमुख ताओले सदियौँदेखिको दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने र त्यसका लागि नेपालको समृद्धिको बाटोमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।