अदुवा बारीमै पूनः उम्रियो, किसानले उचित मुल्य पाएनन्

637

चैत १४,
काठमाडौं । यो वर्ष किसानले उत्पादन गरेको अदुवाले मुलुकमा बजार नपाएपछि तेह्रथुमसहित धनकुटा, संखुवासभा, इलाम, पाँचथरलगायतका जिल्लामा उत्पादन भएको अदुवा बारीमै उम्रिने भएको छ । उत्पादित अदुवाले राम्रो मूल्य नपाउँदा धेरै अदुवा किसान मर्कामा परेका छन् । अदुवाको बिक्री घटेपछि किसानको लगानी नै डुब्ने अवस्था भएको छ । तेह्रथुम थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले राम्रो मूल्य पाएको देखेपछि यसैको खेती गर्ने सोच बनाए । उनले प्रतिकेजी रु ५० दरले बीउ किनेर पाँच रोपनी जमिनमा रोपे । अघिल्लो वर्षको जस्तो अदुवाले मूल्य पाएको भए उनले यो वर्ष रु चार लाख बढी आम्दानी सहजै गर्ने थिए । तर, उनलाई यसपालि लगानी उठाउन नै धौ–धौ परेको छ । म्याङलुङ नगरपालिका–२ का अदुवा किसान ठगमाया भण्डारीले गत वर्ष जस्तै मूल्य पाउने आशामा यो वर्ष ३० क्विन्टल अदुवा फलाइन् । तर यही वर्ष अदुवाको मूल्य घटेपछि उनले घाटा बेहोर्नु परेको छ । अदुवाको मूल्य घटेपछि यो वर्ष लगानी नै गुम्ने खतरा भएको छ । जिल्लाका किसान अहिले अदुवा प्रतिकेजी रु १८ ले बिक्री गर्न बाध्य छन् । गत वर्ष किसानले रु ४० देखि ७० सम्म लगाएर अदुवाको बीउ खरिद गरेका थिए । तर महँगोमा खरिद गरेर रोपेको अदुवा बिक्री गर्ने बेला ह्वात्तै मूल्य घटेपछि किसानलाई मर्का परेको हो । गत वर्ष जिल्लाका बजारमा अदुवा रु ५५ प्रतिकेजीसम्म कारोबार भएको थियो । अदुवाको मूल्य बढ्नुपर्ने समयमा बिक्री हुनै गाह्रो भएपछि जिल्लाभरका किसान मर्कामा परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा अलैँचीपछि सबैभन्दा धेरै उत्पादन हुने र आम्दानी हुने नगदे बाली अदुवा हो । कम मेहनत र दुःख गर्दैमा मनग्य आम्दानी लिन सकिने भन्दै खाद्यान्न बाली छाडेरै अदुवाखेती थालेका किसान बजार भाउ नपाउँदा खेतीबाटै निरुत्साहित बनेका छन् । यो वर्ष विगत वर्षभन्दा धेरै अदुवा उत्पादन भए पनि मूल्य नपाएकाले आगामी वर्ष अदुवाको उत्पादन घट्ने निश्चित जस्तै देखिएको व्यापारी दुर्गानारायण भण्डारीले बताए । जिल्लाका धेरै किसानले अदुवाको बजारीकरण गरिदिन अनुरोध गरेका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । यहाँ उत्पादित अदुवाको प्रमुख बजार भारत हो । भारतीय बजारबाट यो वर्ष माग थोरै मात्रामा आएकाले पूर्वी पहाडमा उत्पादित अदुवाले बजार र मूल्य नपाएको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । अदुवा बिक्रीका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था रहेको छ । जिल्लाका धेरै किसानले अदुवा खेतीका लागि साहु, बैंक, सहकारी संस्था र गाउँघरका समूहबाट ऋण लिएका छन् । अघिल्लो वर्षको मूल्य देखेर अदुवा खेतीमा लागेका किसानले यसको बिक्रीबाट लिएको ऋण र त्यसको ब्याजसमेत बुझाउन सक्ने स्थिति देखिएको छैन । आफू खटेको परिश्रमको मूल्य नपाउने भएपछि अदुवा किसान निराश भएका छन् । जिल्लामा यो वर्ष एक हजार ६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा उत्पादित अदुवा भारत, बङ्गलादेश हुँदै तेस्रो मुलुकतर्फ निकासी भएको थियो ।