बैतडीका जनता दूषित पानी पिउन बाध्य

314

चैत ८,
बैतडी । बैतडीको मेलौली नगरपालिका–६ अग्लो ठाँउ भएको र त्याहाँ अन्य मुहान नहुदाँ मेलौलीमा खानेपानीकै समस्या भएको छ । मेलौली बजारमा खानेपानीको समस्या भएपछि जीप, घोडा खच्चरमा पानी बोकाएर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय सुरत पार्कीले बताए । मेलौलीबाट झण्डै ११ किलोमिटर पररहेको दशरथचन्द नगरपालिकाको ग्याल्लेकमा तीन दशकअघि बनाएको खानेपानी आयोजना जिर्ण बन्दा झनै समस्या भएको स्थानीय बासिन्दा बताउँछन् । लाइनमा कुर्दाकुर्दै कुनै दिन त पानी नै नआएर रित्तै भाडा फर्काउनु पर्ने बाध्यता पनि रहेको स्थानीयको भनाई छ । भर्खरै गाविसबाट नगरपालिका भएको खुशी एकातिर भएपनि पानीको दुःख नहटेकोमा भने गुनासो छ । पुरानो खानेपानी आयोजना मर्मत संभार नहुँदा मेलौलीका बासिन्दाले सँधैजसो पानीको समस्या भोग्नु परेको छ । पानीकै लागि एक घण्टा टाढाको खोलामा धाउनु पर्ने र त्यही खोलाको फोहोर पानी ल्याउनु पर्ने बाध्यता छ । लामो दूरीको पुरानो खानेपानी आयोजना पाइप बिग्रेपछि समयमै मर्मत नहुँदा अहिले हप्ताको दुई तीन दिनमात्रै पानी आउने गरेको छ । गर्मी याम लाग्दै गएको छ, अब पानी झन बढी चाहिन्छ । तर खानेपानीकै लागि समस्या भएको ठाउँमा अरु काम कसरी गर्ने भन्दै गाउँले चिन्तामा छन् ।