सरसफाइमा सहभागी नहुनेलाई जरिवाना

334

चैत ७,
पर्वत । पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा चलेको सरसफाइ अभियान जिल्लाकै नमुना अभियानका रुपमा स्थापित हँुदै गएको छ । गाउँको सरसफाइका लागि गाउँले आफैले नीति नियम बनाएर सरसफाइमा अग्रसर हुन थालेपछि नमुना सरसफाइ गाउँको परिचय पाउने भएको हो । विगत केही बर्ष अघिसम्म स्वच्छ र सुरक्षित खानेपानीबाट बञ्चित बनेका बर्राचौरबासीहरु अहिले सुरक्षित खानेपानीको उचित व्यवस्थासँगै सरससफाइमा समेत सक्रिय रुपमा लागि परेका छन् । बर्राचौरका बासिन्दाहरुले गाउँमा गठित गाउँ खानेपानी तथा स्वच्छता समन्वय समिति र वडा नागरिक मञ्चको पहलमा गाउँमा सरसफाइको अभियान सञ्चालन भएको छ । अहिले गाउँमा प्रत्येक महिनाको १५ र ३० गते सरसफाइका लागि प्रत्येक घरबाट एक जना सदस्य जाने गर्छन् । यसरी सञ्चालन भएको अभियानमा सहभागी नहुनेलाई जरिवाना तोकिएको गाउँ खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति बर्राचौरकी सदस्य गौरादेवी पौडेलले बताइन् । ‘गाउँको प्रत्येक टोल टोलबाट स्थानीय अभियन्ताको अगुवाइमा सरसफइमा निस्किएर सार्वजनिक स्थल तथा बाटोघाटोको सरसफाइ गर्ने गरेका छौँ’ उनले ‘अभियानका क्रममा सहभागी नभएका घरधुरीबाट दुईसय रुपैयाँको दरले जरिवाना उठाउछौँ ।’ यसरी संकलन भएको जरिवानाबाट अभियानमा सहभागी हुने सरसफाइ अभियन्ताहरुलाई खाजा नास्ता उपलब्ध गराउने गरेको उनको भनाई छ ।