सुन्दर घरमा बस्ने सपना यसरी हुदैं छ पुरा मुसहर बस्तीको

375

चैत ६,
काठमाडौं । कलाकारितासंगै समाज सेवामा लागेका कलाकार सिताराम कट्टेल र उनकी जिवनसंगिनी कुन्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसन मार्फत मुसहर बीतीका जनताको सुन्दर घरमा बस्ने सपना पुरा गर्न लागेका छन् । महोत्तरीको बर्दिवासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीका घरहरु अन्तिम चरणमा पुगेका छन् । अहिले ती घरहरुमा रंग लगाउने काम भइरहेको छ ।
शिल्यान्यास गरेको करिव साढे २ महिनामै मुसहर बस्ती तयार हुन लागेको हो । गत माघ २५ गते चर्चित हाँस्यकलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले बस्तीको शिलान्यास गरेका थिए । मुसहर बस्तीको लगभग सबै घरमा छाना छाउने काम सकिएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले बस्ती निर्माणको काम द्रूत गतिमा भइरहेको जानकारी दिए । उनले नयाँ बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्ने बताएका छन् । ४ करोड ७८ लाखमा निर्माण हुने यस बस्तीका लागि बिभिन्न संघ(संस्था तथा दाताहरुले सहयोग गरिरहेका छन् । फाउन्डेसनका लेखा अधिकृत सरोजजंग खत्रीले बताएअनुसार बस्ती निर्माणका लागि अझै पनि करिव १ करोड सहयोग जुटाउनुपर्ने छ । फाउन्डेसनले अहिलेसम्म करिव ३ करोड बराबरको रकम बस्ती निर्माणका लागि खर्च गरिसकेको उनले जानकारी दिए ।