वस्तुगत क्षेत्रका समस्या समाधान गर्न मेरो उम्मेदवारी

2234

फागुन २, काठमाडौं ।
नेपाल उद्योग बाणिज्य महासंघको यही चैत्र २८ गते हुने साधारण सभा पछि ३ वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चयन हुँदैछ । यति बेला महासंघमा चुनावी सहगर्मी ह्वात्तै बढेको छ । यसैक्रममा वस्तुगत संघको तर्फबाट महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति एवं नेपाली वस्तु निर्यात बढाउन महत्वपूर्ण योगदान गरेका व्यवसायी अनुप बहादुर मल्लले प्यानल सहित वस्तुगत उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । ९९ वटै वस्तुगत संघका समस्या समाधान गर्न (उत्पादन सेवा र व्यापार) तीनै क्षेत्रको समान सहभागिता  हुनेगरि १४ जना कार्यकारिणी सदस्यको १४ क्लस्टर बनाएर व्यवसयीका समस्या समाधान गर्न सम्बन्धित निकायमा लविङ्ग गर्ने दृढ अठोटका साथ आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको बताउनु हुने मल्ल निर्यात क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका व्यवसायी हुनु हुन्छ ।
नेपाल कार्पेट एक्सपोर्टस् एशोसियसनका अध्यक्ष, नेपाल जर्मन चेम्बरका प्रथम उपाध्यक्ष समेत रहनु भएका व्यवसायी मल्ल संग नयाँ नेपाल न्यूजले महासंघको आसन्न निर्वाचन संग केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादीत अंश :
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वस्तुगत तर्फबाट उपाध्यक्षको उम्मेद्वारमा ‌औपचारिक घोषणा गर्नुभयो, यतिबेला वस्तुगतको उपाध्यक्षमा उम्मेद्वारी दिनुको कारण के हो ?

अनुप बहादुर मल्ल, उपाध्यक्ष पदका प्रत्यासी (वस्तुगत)

विगतमा मैले मेरो कम्पनी एशोसियट सदस्य भएको हैसियतले ३ पटक कार्यकारिणी समितिमा रहेर काम गर्ने अवसर मिल्यो । मैले महासंघको कार्यकारिणी सदस्यमा रहँदा विभिन्न समितिमा रहेर काम गर्दा निकासी तर्फका मात्र नभइ समग्रमा सबै क्षेत्र (उत्पादन, सेवा र व्यापार)का समस्या समाधान गर्न केन्द्रित भएर काम गरेकै कारण यस अघिको निर्वाचनमा वस्तुगत तर्फ कार्यकारिणी सदस्यमा सर्वाधिक मत प्राप्त भयो । म एउटा निकासीकर्ता मात्र रहँदा पनि तीन वटै क्षेत्र (उत्पादन, सेवा र व्यापार)को लागि काम गरें । अहिले नेपाल गलैंचा निर्यातकर्ता संघको अध्यक्ष, नेपाल जर्मन चेम्बरको प्रथम उपाध्यक्षको हैसियतमा काम गर्दैछु । मैले त्यहाँबाट पनि अन्तर्राष्ट्रीय मेलामा आफ्नो निर्यात क्षेत्रमा मात्र नभै पर्यटन क्षेत्रको प्रवर्द्धनमा  समेत काम गरेको छु । CMT (Caravan Motor Tourism) मेलाको कोर्डिनेटर बनेर उल्लेखनिय काम गरेको छु । नेपालमा भएका वस्तुगत व्यवसाय जसको सम्भाव्यता र  तुलानात्मक रुपमा बढी लाभ लिन सक्ने वस्तु तथा सेवाको प्रवर्द्धनमा लाग्छु । त्यस्ता वस्तुगत व्यवसायलाई अगाडि बढाउन महासंघको वस्तुगत उपाध्यक्षमा पुगेर काम गर्नै उद्येश्य लिएर उम्मेद्वारी दिएको हुँ । यस अघि काम गर्दा पारदर्शीता र सबैलाई चित्तबुझ्दो गरि काम गरेको छु । यस पटक वस्तुगत तर्फका तीन वटै क्षेत्र (उत्पादन, सेवा र व्यापार) को नेतृत्व गर्दै यस क्षेत्रका समस्या समाधान गर्दै व्यवसायीक प्रवर्द्धनमा दृढतापूर्वक लाग्ने अठोटका साथ उम्मेद्वारी दिएको छु ।
वस्तुगत संघ आफैमा विभिधिकरण भएको क्षेत्र हो । वस्तुगत क्षेत्रका समस्या समाधान हुँदा व्यवसायीका धेरै समस्या समाधान हुन्छन् । सबैलाई समन्वय गर्ने बारेमा के सोच्नु भएको छ ?
मैले अघि पनि भने (उत्पादन, सेवा र व्यापार) यी तीन वटै क्षेत्र भित्रै वस्तुगत एशोसियट जिल्ला नगर पनि पर्दछ । यी तीन वटा क्षेत्रलाई नै १४ जना कार्यकारिणी सदस्यले एउटा–एउटा क्लस्टर बनाएर त्यसको नेतृत्व गर्दछन् । अहिले सम्म समान सहभागिता हुन सकेको छैन । अब यी मुख्य तीनै क्षेत्रको समान सहभागिता हुने गरि १४ वटा समुह बनाएर प्रतिनिधित्व हुन्छ । सबै वस्तुगत संघका समस्या समाधान गर्न सबै संघलाई सक्रिय बनाई समस्याको पहिचान गरि समाधानको नेतृत्व लिने गरि सबै सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिनेछ ।
सबै वस्तुगत संघका साथीहरुलाई के भन्न चाहनुहुन्छ  ?
यो चलिरहेको कार्यकालको कार्यकारिणी सदस्यमा निर्वाचित हुने वितिक्कै साथीहरुको चाहना नै अर्को पटकको उपाध्यक्षको उम्मेद्वार अनुप मल्ल बन्नु पर्दछ भन्ने थियो । अहिले मैले तपाईहरुकै चाहना अनुसार सबै क्षेत्रको प्रतिनिधित्व गराएर अगाडि बढ्दैछु । ९९ वटै संघलाई तीनवटा  क्षेत्र (उत्पादन, सेवा र व्यापार) मा समेटिने हुँदा सबैको बराबरी प्रतिनिधित्व गराउने, यहाँहरुका समस्या समाधानका लागि क्रियाशिल र नेतृत्वदायी भूमिका निर्वाह गर्ने संकल्प गरेको छु । यसमा यहाँहरुको साथ सहयोगको अपेक्षा गरेको छु ।
वस्तुगत संघ तर्फका समस्या के देख्नुभएको छ र त्यसलाई समाधान गर्न तपाईको भूमिका के रहन्छ ?
भोलि हामी कसरी काम गर्दछौं भन्ने कुराको मापन विगतमा गरेका कामको मुल्याङ्कनबाट हुन्छ । मैले निर्यात प्रवर्द्धन परिषिदको सभापति भएर गरेको गतिविधि तथा क्रियाकलापले नै अगाडि बढ्न मार्गदर्शन प्रदान गरेको छ । हामीले सरकारी र नीजिक्षेत्र बीच विभिन्न चरणमा र विभिन्न विषयहरुमा छलफल र वार्ता शुरु गर्यौं । हरेक वस्तुगत समस्यालाई सरकारी, निजिक्षेत्र र विषेशज्ञ राखेर निस्कर्ष निकाल्ने र निस्कर्षलाई सरकार समक्ष प्रस्तुत गर्ने कामको थालनी गर्यौं । अब यसलाई अझ प्रभावकारी र उपलब्धिमुलक बनाउने गरि सबै व्यवसायी साथीहरुको साथ लिएर अघि बढ्ने छु ।
वस्तुगत तर्फका मुख्य समस्याहरु के के छन् ?
हाम्रो देश भनेको जैविकविविधता भएको देश हो जहाँ प्रचुर मात्रामा कृषि तथा खानीजन्य उद्योग, पर्यटन, हस्तकला तथा परम्परागत नेपाली वस्तुगत उद्योगको यथोचित विकास हुन सकिरहेको छैन । सरकारको गलत निति र  विभिन्न  मन्त्रालयहरुवीच आपसी समन्वयको अभावमा उद्योगहरुले आफ्ना उत्पादनहरु सहज रुपमा उत्पादन गर्ने तथा कच्चा पदार्थको उपलब्धता सम्म हरेक क्षेत्रमा हैरानि बेहोर्नु परिरहेको छ । एउटै विषयको लागि विभिन्न मन्त्रालय धाउन पर्ने र नीतिहरु परस्पर बाझिने किसिमका छन् । त्यसको समाधानको लागि सम्बन्धित मन्त्रालयहरुले पहल गर्नुपर्ने हुन्छ । सो व्यवस्थाको लागि लविङ्ग गर्नेछु ।
त्यस्तै हाम्रो आयात प्रतिस्थापन गर्न सक्ने विभिन्न उद्योगहरु हामी संग छन् तर ती उद्योगहरुलाई कसरी प्रवर्द्धन गर्ने भन्ने कुरा नै एकिन हुन नसकेको कारणले गर्दा व्यापार घाटा १:१३ भइसकेको अवस्था छ ।
यिनै क्षेत्रहरुका समस्याहरुलाई जरैदेखि नै औंल्याएर सम्भावनाका क्षेत्रहरु के-के हुन् भन्ने कुरा पहिचान गर्नेमा मैले जोड दिनेछु ।
आयात प्रतिस्थापन गर्ने वस्तुहरु के-के हुनसक्छन्?
हामीमा परम्परागत रुपमा निर्यात गर्दै आएका गलैंचा, पस्मिना, गार्मेन्ट, ह्यान्डिक्रफ्ट आदि मात्र हाम्रो निर्यातमुलक वस्तुहरु भन्ने बुझाइ छ। तर यति मात्र नभइ हाम्रो मुलुक औषधीमा ९० प्रतिशत अत्मनिर्भर भइसकेको भए तापनि राज्यले विदेशबाट आयात गर्न प्रसय दिइरहेको अवस्था छ । हाम्रा संचालन भइरहेका उद्योगहरुलाई नयाँ प्रविधि भित्र्याइ क्षमता बढाएर हामी पूर्णरुपमा आत्मनिर्भर हुन सक्छौं । त्यस्तै अन्तर्राष्ट्रिय किसिमको प्रशोधन केन्द्र र एकक्रेडिएटेड ल्याब स्थापना गर्न आवश्यक छ । हाल केहि औषधी उद्योगहरुले त निर्यात पनि सुरु गरिसकेका छन् ।
त्यस्तै फुटवेयर क्षेत्रमा पनि करिब १ अर्बको निर्यात हुँदै आएको छ । जुत्ता एउटा अत्यन्त सम्भावनाको वस्तु भनी राज्यले यसलाई ( Nepal Trade Integration Strategy) मा समावेश गरेको अवस्था छ । यसले अर्बौंको जुत्ता आयतमा प्रतिस्थापन गर्न सक्छ भन्ने प्रमाणित गरिदिएको छ ।
त्यस्तै पेन्ट्स उद्योग पनि हाम्रो देशमा धेरै समभावना भएको मध्येमा पर्दछ तर विदेशबाट प्रशस्त मात्रामा विग्रेका र फाल्ने अवस्थामा रहेका पेन्ट्स निकै ठूलो मात्रामा एकदम सस्तो मुल्यमा आयात गरि बजारमा आएको छ । यस्ता सम्भावना भएका उद्योगहरुलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने कुरा अध्ययन गरेर यस अघि मैले मन्त्रालयहरुमा रिपोर्टहरु बुझाएको छु ।
त्यस्तै आयात प्रतिस्थापन गर्न सक्ने उद्योगका क्षेत्रहरुमा जेम्स् स्टोन, सिमेन्ट आदि छन् । हामी कृषि र कृषि जन्य वस्तुहरुमा आत्मनिर्भर हुँदा हुँदै पनि नयाँ प्रविधि भित्र्याउन नसक्दा र यसको क्षमता अभिवृदि गराउन राम्रो संग ध्यान दिन नसक्दा आयातमुखी हुनु परेको अवस्था छ । यस तर्फ राज्यले ध्यान दिनुपर्छ ।
कतिपय वस्तुको निर्यातमा जहिले पनि विवाद हुने गरेको छ (जस्तो सुपारी) यस्ता समस्याहरुको समाधानमा यहाँको के प्रयत्न रहन्छ?
चीनबाट वस्तुहरु आयात भएर नेपाली लेबल लगाएर अन्य राष्ट्रहरुमा निर्यात भइरहेको भन्ने कुरा आइरहेको छ । पहिलो त हाम्रा उत्पादनहरुको सहि तथ्याङ्क हुनु अति आवश्यक छ । सहि तथ्याङ्क भयो भने मात्र हाम्रा उत्पादन कति हुन् र कति होइनन् भन्ने कुरा प्रमाणित हुन्छ । यदि हाम्रो तथ्याङ्क भन्दा बढि निर्यात हुन्छ भने त्यो बेला रोक्नु आवश्यक छ । कुनै वस्तु विदेशबाट आयात भएर विदेश नै भनेर निर्यात हुन्छ भने त्यस्ता निर्यात खुला गर्नुपर्दछ भन्ने मेरो मान्यता छ ।
यहाँले टीम घोषणा भएको छ र अरु सदस्यहरु पनि थपिने कुरा छ, यहाँको टीमले कहिले सम्ममा पूर्णता पाउँनेछ?
यो कुनै समस्या नै होइन । अघिल्लो चुनावमा पनि हेर्नुहुन्छ भने टीम बनेर टीमका सदस्यहरुको नाम आउँदैनथ्यो । यो टीम घोषणा अन्तिममा गरिन्थ्यो । यसपालि हामीले स्वतन्त्र हिसाबले प्यानल बनाएर जाने निर्णय गरिसकेपछि मैले यो टीमको घोषणा गरेको हुँ । बाँकी सदस्य नोमिनेसन सम्म पुरा गर्छौं । सम्पूर्ण सदस्य सहितको उम्मेद्वारीको घोषणा खुलेर पहिलोचोटी गरेको छु । म पारदर्शी व्यक्ति हुँ र मलाई कुनै कुरा लुकाउन आवश्यक छैन । हामीसंग थुप्रै इच्छुक साथीहरु हुनुहुन्छ । नोमिनेसन सम्ममा टुङ्गो लाग्ने हुनाले यो हतारिनु पर्ने विषय रहेन ।
 
यस्तो छ मल्ल प्यानल :
नरेशलाल श्रेष्ठ (फेल्ट एसोसिएसन अफ नेपाल)
प्रकाशसिंह कार्की (नेपाल फ्रेड फवार्ड एसोसिएसन)
तुलसीराज गिरि (फिसिएरी एसोसिएसन अफ नेपाल)
सुरज बज्राचार्य (नेपाल कपडा तथा सिलाई व्यवसायी संघ)
हेमरत्न शाक्य ( नेपाल हस्तकला महासंघ)
रबिन श्रेष्ठ (फुटवयर म्यानुफ्याक्चरर्स् एसोसिएसन)
नरेश बहादुर मल्ल (नेपाल प्रिन्टर्स एसोसिएसन)
खेमराज पन्त ( कुरीयर एसोसिएसन)
सन्तोष श्रेष्ठ ( एड्भरटाइजिङ एसोसिएसन)
भक्त बहादुर हमाल (केमिकल एन्ड मेडिकल सप्लायर्स एशोसियस)