कालिञ्चोकमा हिउँसँग पौंठेजोरी (फोटो फिचर)

415

३ चैत, दोलखा । प्राकृतिक र धार्मिक यात्रा रुचाउनेहरुको लागि आकर्षक ठाउँ हो, दोलखाको कालिञ्चोक क्षेत्र । मनोरम हिमशृंखलाको अवलोकनसँगै कालिञ्चोक भगवतीको दर्शन पनि गर्न सकिने भएकोले धेरैका लागि एक पन्थ दुई काम हुने गर्छ ।
राजधानी काठमाडौं नजिकैको ठाउँ भएकाले आन्तरिक पर्यटकहरु सहजै यो ठाउँमा पुग्न सक्छन् । खासगरी हिउँदको बेला कालिञ्चोकमा हिउँसँग खेल्नेहरुको घुइँचो नै लाग्छ । चिसो याममा यस क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ पर्छ । यसपालि पनि सबैतिर होली पर्वको रङ छाएको बेला कालिञ्चोक भने हिउँ परेर सेताम्मे देखियो ।
काठमाडौंबाट कालिञ्चोक पुग्न दोलखा सदरमुकाम चरिकोटसम्म पक्की सडक र त्यसपछि कच्ची सडकको यात्रा पार गर्नुपर्छ । करिब पाँच घण्टाको बसयात्रापछि चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्मको १७ किलोमिटर कच्ची बाटोमा जिपबाट जाने सुविधा छ । हिउँ परेको बेला भने जिपको यात्रा गाह्रो हुन्छ ।