फिल्म कथा काठमाण्डु घोषणा

322

काठमाडौं । लामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा लागेकी छिन् । म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेपछि संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् । उनले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘कथा काठमाण्डु’को आज औपचारिक रुपमा घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ३ फरक कथामा बन्ने चलचित्रको घोषणा भयो । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहनेछ । चलचित्रको बिषयमा बोल्दै निर्देशक श्रेष्ठले भनिन्–‘चलचित्रमा ३ फरक–फरक कथालाई जोडेर एउटा चलचित्र निर्माण गरिनेछ । संभवत नेपाली चलचित्रमा यस्तो प्रयोग भएको छैन । ३ फरक–फरक फिल्म भित्रका कथालाई मिलाएर चलचित्र निर्माण हुनेछ ।’ संगीताले ३ फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन हुने पनि जानकारी दिइन् ।’उनका अनुसार, यो लभ स्टोरी चलचित्र हो । यस्तै, चलचित्रको बिषयमा बोल्दै नायिका प्रियंका कार्कीले भनिन् ‘एउटा चुनौतीपूर्ण भूमिका निर्वाहा गर्दैछु ।’ चलचित्र ‘चपली हाइट २’बाट उदाएका नायक आयुष्मान देसराज जोशीले राम्रो कथामा आफू जहिले पनि उत्साहित हुने भन्दै चलचित्र खेल्नका लागि १० लाख पारिश्रमिक मागेको कुरालाई हल्ला मात्र भनेका छन् । आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन वुधबारबाट सुरु हुनेछ । विजय राइको लगानी रहने यो चलचित्रको प्रोडक्शन डिजाइनर वुद्धिलाल मगर छन् । यस्तै, चलचित्रमा लुजाओ विन्ङको छायांकन रहनेछ ।