एमाले भन्छः राजविराजमा शीर्ष नेतृत्वको सामूहिक हत्याको प्रयास गरियो

227

फागुन २४,
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको दाबी गरेको छ । उसले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाएको छ र राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको छ ।
एमालेको मेची महाकाली अभियान विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको छ ।
घटनापछि ३ दिनलाई अभियान स्थगित गरेर काठमाडौं आएका एमाले नेताहरुले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरे ।
एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेला घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको दाबी गरिएको छ ।
आफ्नो मेची महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला(बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शंका उब्जाएको एमालेले बताएको छ । र, यो घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने बताएको छ । एमालेले राजविराज घटनाको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगसमक्ष माग गरेको छ ।