नेपाल फुटसल संघको पहिलो शाखा कास्कीमा

197

फागुन २४, पोखरा । बढ्दो शहरीकरणका कारण मैदान अभाव भएसँगै फुटबलको बिकल्पको रुपमा रहेको फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकास गर्न भन्दै कास्कीमा जिल्ला फुटसल संघ गठन भएको छ ।
राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ गठन भएपछिको नेपालकै पहिलो शाखा कास्कीमा खोलिएको हो । जिल्ला खेलकुद विकास समिति कास्कीमा दर्ता संघमध्ये यो ८९ औं खेलकुद संघ हो ।
पोखरामा फुटबलमा आवद्ध व्यक्तिहरुको भेलाले सञ्जय लिगलको अध्यक्षतामा संघ गठन गरेको हो । संघको उपाध्यक्षमा सुशील केसी, महासचिवमा प्रदीप घिमिरे, सहसचिवमा धर्मराज पराजुली, कोषाध्यक्षमा जयन्त सिंह छन् । त्यस्तै सदस्यहरुमा प्रकाश पराजुली, मोहन कुवंर, डा। दिवश क्षेत्री, दामोदर बराल, दिपक बास्तोला, उमेश पुन र नवराज कोइराला छन् । नवगठित कार्यसमितिको घोषणा कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानीको रुपमा स्थापित गर्न सवैको सहयोग आवश्यक रहेको वताए ।
उनले १३औं सागलाई मध्यनजर गर्दै पोखरा रंगशालामा पूर्वाधार विकास लगायतका कार्यहरु सुरु गरिने बताए ।
उनले पोखराको फुटबल रंगशाला निर्माणका लागि एक दुई दिनमा नै डिपिआर सम्झौता हुने जानकारीसमेत दिए । साथै रंगशालमा भत्किन लागेको गेट र पर्खालको पनि मर्मत गरिने उनले वताए ।