मधेसमा एमाले र मधेसी मोर्चाको आमुन्ने सामुन्ने, सप्तरी तनाव हुन नदिन सुरक्षा सतर्कता बढाइयो

453

फागुन २२,
सप्तरी । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई रोक्नका लागि मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लाका विभिन् स्थानमा लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरेको छ । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको छ । मधेसी मोर्चाले दिएको जानकारीअनुसार सोमबार एमालेले सप्तरीमा गर्न लागेको सभालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरिएको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सीमास्थलमा रहेको भारदहमा सोमबार बिहानै लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जनाएको छ । त्यस्तै रुपनीमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ । त्यसैगरी पूर्व पश्चिम राजमार्गबाट राजविराजतर्फ मोडिने हनुमाननगरमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ । एमालेले दिउँसो राजविरोधमा आयोजना गरेको जनसभालाई लक्षित गर्दै राजविराजमा समेत लाठी जुलुस निकालिने मोर्चाले जनाएको छ । यता मधेसी मोर्चाले कञ्चनपुरमा समेत लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ । राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ गाउँबाट कार्यकर्ताहरु ओसारिरहेको छ । एमालेको जनसभा हुने अघिल्लो दिन राजविराजमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन् । यसैवीच नेकपा एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारिएको छ । एमाले नेता गोविन्द न्यौपानेका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ ।एमालेले सभा आयोजना गर्न लागेको औद्योगिक क्षेत्रमा तालाबन्दी गरिने मोर्चाका कार्यकर्ताले बताएका छन् ।
एमालेको जनसभालाई लक्षित गरी मोर्चाले सोमबार जिल्लामा चक्काजामको घोषणा गरेको छ ।