वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बिजुक्छेको दाबी

280

फागुन १६,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताए । उनले जहिलेसम्म संशोधन हुँदैन् त्यसबेलासम्म सरकार नरहने भएकाले यो सरकारको औचित्यता नभएको बताए । उनले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए । स्थानिय तहको निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भए पनि निर्वाचन गरिनु पर्नेमा उनले जोड दिए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र सिके राउत एउटै शक्ति केन्द्रबाट परिचालन भएको दावी गर्दै बिजुक्छेंले उपत्यकामा विदेशी संयन्त्रले सरकार सञ्चालन गरिरहेको आरोप लगाए । नेपालको सरकार काठमाडौमै रहेका विदेशी संयन्त्रको निर्देशनमा चलेको उनको आरोप छ । कांँग्रेस र माओवादी एउटै शक्ति केन्द्रबाट परिचालित भएको हो भने पार्टी फरक हुनुको औचित्यता नभएको समेत उनले टिप्पणी गरे ।
बिजुक्छेंले मधेशी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गरे । मधेशी मोर्चाले उठाएका माग तराईका जनताको नभएको बताउँदै उनले तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने भएकाले यदी अवरोध भए सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने र नयाँ सरकार गठनपछि मात्र निर्वाचन हुने बताउँदै तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुटा कमाउनुनहुने बताए । यदि निर्वाचन गर्ने वातावरण आएन भने सरकारले पालेका सेना, प्रहरीको के काम भन्दै उनले प्रश्न गर्दै भने, सरकारले जसरी पनि निर्वाचन गर्नुपर्छ ।
उनले संविधान संशोधनमा एमालेले लचकता अपनाउनुको पछाडि विदेशी दबाब हुन सक्ने बताउँदै संविधान संशोधन पारित भए देश नरहनेसमेत बताए ।
उनले प्रमुख प्रतिपक्ष नरहने गरी थ्रेस होल्डको कुरा आइरहेकाले थे्रस होल्ड संख्याको आधारमा नभई विचारको आधारमा गरिनु पर्ने बताए ।