आज पनि स्ववियु चुनावका लागि उम्मेद्वारी दर्ता हुने

231

फागुन १५,
काठमाडौं । आज आइतबार पनिस्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि उम्मेद्वारी दर्ता हुँदैछ । मनोनयन दर्ता शनिबार नै गर्नुपर्ने भए पनि विद्यार्थी संगठनको तालाबन्दी र झडपका कारण धेरै क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि आइतबार पनि मनोनयन दर्ता गर्नेगरी आन्तरिक कार्यतालिका हेरफेर गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य नरेन्द्र शिवाकोटीले आउँदो बुधबार नै चुनाव गर्नेगरी आन्तरिक कार्यतालिका समायोजन गरिएको र शनिबार बेलुका बैठकमा विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले तालाबन्दी हटाएर आइतबार मनोनयन दर्ता गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । काठमाडौं उपत्यकाका २२ वटा आंगिक क्याम्पसमध्ये भक्तपुर क्याम्पस, सानोठिमी क्याम्पस, चिकित्साशास्त्र अध्ययन सस्ंथान, नर्सिङ क्याम्पस र जनप्रशासन क्याम्पसमा मात्र शनिबार मनोनयनपत्र दर्ता भएको छ । केही क्याम्पसमा आंशिक रुपमा मात्र मनोनयन दर्ता भएकाले ती लगायत शनिबार मनोनयन दर्ता नै हुन नसकेका क्याम्पसमा आइतबार मनोनयन दर्ता हुने शिवाकोटीले जानकारी दिए । काठमााडौं बाहिर इलाम, पाल्पा र धनकुटामा केही समस्या भएको बाहेक सबैजसो क्याम्पसमा मनोनयन दर्ता भएको तर काठमाडौं उपत्यकामा भने धेरैजसो क्याम्पसमा कित आगजनी र तोडफोड कि त तालाबन्दी भएको छ । तराईका जिल्लामा भने मधेसी मोर्चाले क्याम्पस बन्द गराएका कारण स्ववियु चुनावको कुनै काम हुन सकेको छैन ।