भक्तपुरमा अझै युवा समितिले पूर्णता पाएन

184

१२ फागुन,
भक्तपुर । भक्तपुरमा जिल्ला युवा समितिको कार्यालय खुलेको एक बर्ष बित्न लागे पनि राजनीतिक भागबण्डा नमिल्दा अझै समितिले पूर्णता पाउन सकेको छैन । समितिको जिल्ला अध्यक्ष राष्ट्रिय युवा परिषदबाट ४ बर्षका लागि नियुक्त हुने ब्यबस्था भए पनि भक्तपुरमा अझै यो पद रिक्त रहेको छ । राजनीतिक खिचातानीका कारण जिल्ला अध्यक्ष लगायत ६ जना सदस्य समेत मनोनयन हुने नसकेको कार्यालय स्रोतको भनाई छ । कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख पदमराज जोशीले समितिले प्राबिधिक कारणले पूर्णता पाउन नसकेको बताउँदै यसले छिट्टै पूर्णता पाउने अपेक्षा गरेका छन् ।
समितिले पूर्णता किन नपाएको राजनीतिक भागबण्डा नमिलेर हो ? भन्ने जिज्ञासा राख्दा उनले कारण तपाईंहरुले भने जस्तै हुन सक्ने भए पनि हामीले भन्ने जवाफ प्राबिधिक कारणले भन्न जवाफ दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख मुक्तिसिंह अधिकारीले देशका ६० जिल्लामा समितिले पूर्णता पाएको तर भक्तपुर लगायत १५ जिल्लामा पुर्णता पाउन बाँकी रहेको बताए । दल र तिनका नेताले आआफ्ना पार्टी र नजिकका ब्यक्तिलाई समितिमा नियुक्ति गर्न खोज्दा र राजनैतिक समन्वय नहुँदा समितिले पुर्णता पाउन नसकेको स्रोतले बतायो ।
कार्यक्रममा जिल्ला कार्यालय प्रमुख जोशीले कार्यालयको संक्षिप्त परिचय र कार्यालयका मुख्य कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । भक्तपुरका पत्रकार माझ कार्यालयले पहिलो पटक आयोजना गरेको कार्यक्रममा जिल्लामा कृयाशिल अधिकांश पत्रकारको सहभागिता रहेको थियो ।