विद्यालयलाई लाखौं सहयोग

242

फागुन १५,
म्याग्दी । म्याग्दीको घार–५ मा रहेको मुक्तिमार्ग माविलाई एक परिवारले लाखौंसहयोग गरेका छन् । स्थानीयवासी टीकाबहादुर र उहाँका छोरा देवबहादुर खड्काले विद्यालयको भवन निर्माणका लागि रु १५ लाख ८५ हजार मूल्य बराबरको जग्गा र नगद सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।
खड्का परिवारबाट विद्यालयको आठकोठे भवन निर्माणका लागि तीन लाख ५० हजार नगद सहयोग प्राप्त भएको भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । देवबहादुर पर्यटन व्यवसायी हुनुहुन्छ ।
उहाँहरुले गत वर्ष रु ११ लाखमा तीन रोपनी जग्गा खरिद गरेर रु एक लाख ३५ हजार खर्च गरी जग्गा सम्माएर विद्यालयलाई उपलब्ध गराउनुभएको थियो । जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु ६० लाख अनुदान भवन निर्माणमा अपुग भएपछि समुदायस्तरमा चन्दा सङ्कलन र श्रमदान अभियान सञ्चालन गरिएको थियो ।
भौगोलिक विकटताका कारण ढुवानी खर्च महँगो र देशभरका भवनको मापदण्ड एउटै भएकाले भवन अलपत्र पर्ने अवस्था आएपछि समुदायस्तरबाट सहयोग जुटाएर पूर्णता दिन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिनुभयो । उक्त भवन निर्माण सम्पन्न गर्न करिब रु एक करोड खर्च हुने अनुमान छ ।
यसैगरी बेल्जियममा रहेका नारायण खड्काको पहलमा रु एक लाख २० हजार र जापानमा रहेका दधीवल खड्कामार्फत रु ५१ हजार सहयोग प्राप्त भएको छ । घार गाविस कार्यालयले रु पाँच लाख विनियोजन गरेको छ ।