भक्तपुरमा ब्लक र पकेट क्षेत्र कार्यक्रम शुरु

396

भक्तपुर । कृषि विकास मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत भक्तपुरमा ब्लक र पकेट कार्यक्रम सुरु भएको छ । धान तथा तरकारी खेतीको २ वटा ब्लक र विभिन्न साना कृषि उत्पादनका ३० वटा पकेट कार्यक्रमका लागि २ करोड ६ लाख विनियोजन भएको जिल्ला कृषि विकास कार्यालय भक्तपुरले जनाएको छ । जिल्लाका नगरकोट, बागेश्वरी, दधिकोट र सिपाडोल क्षेत्रलाई धान उत्पादन ब्लक र मध्यपुर थिमि, सूर्यविनायक, नगरकोट र अनन्तलिङ्गेश्वर नगरपालिकालाई तरकारी खेती ब्लक क्षेत्रका रुपमा छनौट गरि कार्यक्रम शुरु भएको कार्यालय प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिइन् । जिल्लाभरको क्षेत्रलाई साना व्यवसायिक कृषि उत्पादनका लागि ३० वटा पकेट कार्यक्रम लागु गरिएको उनले बताइन् ।
पकेट कार्यक्रम अन्र्तगत कृषि बालीका लागि २ सय रोपनी जग्गा, मौरी पालनका लागि ४ सय घार, च्याउ खेतीका लागि १ हजार च्याउ प्याकेट आवश्यक पर्छ । ब्लक कार्यक्रम अन्र्तगत २ हजार रोपनी जग्गा एउटा ब्लकमा आवश्यक पर्ने कार्यालय प्रमुख ढुंगानाले बताइन् । कार्यक्रमले जिल्लाका स्वैच्छिक कृषियोग्य जमिनको एकिकरण मार्फत सामुहिक उत्पादन र बजारीकरणको अवधारणालाई अवलम्बन गरिएको उनले बताइन् ।
ब्लक र पकेट कार्यक्रममा सहभागि हुन कृषक, कृषक समूह र कृषि सहकारीले जग्गाको क्षेत्रफल, उत्पादन गर्ने वालीको विवरणसहित सम्बन्धित क्षेत्रको नगरपालिका र कृषि सेवा केन्द्रको सिफारिस पेश गर्नुपर्ने प्रावधान रहेको छ ।