प्राधिकरणको लापर्वाहीले एकको मृत्यु

222

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाकोे बाँसखर्कमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । घर जानेक्रममा सडक नजिकै रहेको फलामको विद्युतीय पोलमा छुँदा करेन्ट लागेर बाँसखर्क–७ का ३० वर्षीय निहमा ग्याल्बो बोम्जनकोे घटनास्थमै मृत्यु भएको हो । फलामको पोलमा ११ हजार भोल्टेजको करेन्ट चुहावट भएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । घटनाको वास्तविकता बुझ्नका लागि विद्युत् प्राधिकरणका कर्मचारीसहित प्रहरी घटनास्थल पुगेको थियो । करेन्टका कारण मृत्यु भएका बोम्जनको शव मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल)मा शवपरीक्षणपश्चात् आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए । विद्युत् प्राधिकरणको लापर्वाहीका कारण अकालमा ज्यान गुमाउन बाध्य छन् सिन्धुपाल्चोकवासी । विद्युत्कोे उचित व्यवस्थापन नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको स्थानीयवासीको ठहर छ । जिल्लाभरि नै पटकपटक विभिन्न समयमा कहिले हाइभोल्टेज त कहिले बिजुलीको खम्बा ढलेर र विभिन्न क्षेत्रमा विद्युत्का तार लत्रिएर हुने मानवीय क्षतिप्रति प्राधिकरणले हालसम्म कुनै चासो दिएको पाइँदैन । सडक किनारमा रहेको बिजुली तार व्यवस्थापन गर्न निवेदन दिँदासमेत प्राधिकरणले चासो नदिएकाले यस्तो दुर्घटना भएको स्थानीयवासीको गुनासो छ ।