बलात्कारपछि युवतीको हत्या भएको आंशका

280

खोटाङ । मंगलबार रातिदेखि हराएकी लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जंगलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् । सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता बिहान काम गर्न होटल जाने र बेलुकी आफ्नो घर फर्कने गरेको उनका बुबा वीरबहादुर तामाङले जानकारी दिए । हराएकी रीताको खोजी गर्दा जंगल मडारिएको ठाउँ भेटिएको र उक्त ठाउँबाट करिब ४० मिटर तल उनलाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि उनको हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । रीता एक महिनाअघि देखि मात्र सो होटलमा काम गर्दै आएकी बुबा वीरबहादुरले जानकारी दिए । मृतक युवतीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको प्रहरीले जनाएको छ ।