बिहानैदेखि साँखुमा प्रहरी र प्रर्दशनकारी बिच झडप

247

माघ २६,
काठमाडौं । स्थानीयले आज बिहान ५ बजेदेखि काठमाडौं साँखुमा यातायात, कलकारखाना लगायत सञ्चालन हुन दिएका छैनन् । शंखरापुर नगरपालिकालाई कागेश्वर–मनोहरा नगरपालिकामा गाभेको भन्दै क्षेत्र स्थानीय बासिन्दाले बुधबार बिहानैदेखि बन्द गराएका छन् । ऐतिहासिक महत्व बोकेको शंखरापुर नगरपालिका नै कायम गर्नुपर्ने स्थानीयको माग छ । आफ्ना माग पूरा गराउन माग गर्दै स्थानीयले केही दिनदेखि वडा कार्यालय, मालपोत कार्यालय लगायतमा तालाबन्दी, धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । त्यस्तै, शंखरापुर नगरपालिका नै कायम गर्नुपर्ने मागसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम लगायतका दललाई उनीहरुले ज्ञापन पत्र पनि बुझाएका छन् । झन्डै एक दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेका छन् । स्थानीय नागरिक समाज दबाब समूहका सदस्य नवराज श्रेष्ठले १५ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । बन्दकर्ताले कालो झन्डासहित नाराबाजी, जुलुस जारी राखेका छन् । स्थानीयबासीले शंखरापुर नगरपालिका बचाउ सघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । यसअघि भएको सडक बन्द गर्ने क्रममा झन्डै आधा दर्जन गाडीको सिसा फुटाइएको छ । उनीहरुले शंखरापुर नगरपालिका कायम नभए साँखु तथा सिन्धुपाल्चोक जाने सडक अनिश्चितकालीन बन्द गर्ने चेतावनी पनि दिएका छन् । आन्दोलन नियन्त्रण गर्न महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी तथा थप दुई ट्रक दंगा प्रहरी परिचालन गरिएको छ ।