राप्रपाको गाउँ र नगरको अधिवेशन सम्पन्न

139

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिहत्तर जिल्लामा वडा, गाउँ र नगरको अधिवेशन सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक र रौतहटमा विभिन्न प्राविधिक कारणले अधिवेशन हुन नसकेको र त्यसदेखि बाहेकका सम्पूर्ण स्थानमा अधिवेशन पूरा भएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । तत्कालीन राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि स्थानीय तहदेखि नै अधिवेशन सुरु गरिएको हो । यही माघ ७ देखि १५ गतेसम्म वडा, गाउँ र नगरको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि केही स्थानमा नेतृत्वका लागि भएका विवाद समाधान गरी चुनाव तथा सर्वसम्मत नेतृत्व छनोटका लागि निर्धारित समयभन्दा केही दिन प्रक्रिया लम्बिएको थियो । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि करिब २० लाख साधारण सदस्यता वितरण गरिसकिएको छ । प्रवक्ता श्रेष्ठका अनुसार अधिवेशन हुन बाँकी दुई जिल्लामा निर्वाचन समितिको अग्रसरतामा चाँडो अधिवेशन गरिनेछ । देशका दुई सय ४० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय अधिवेशन तथा मङ्गलबार जिल्ला अधिवेशन गरिनेछ ।