चार हजारमा बिक्छ ड्राइभिङको लिखित परीक्षाको प्रश्नपत्र

196

माघ २१ । रातोपाटी डट कम
काठमाडौं । ट्राफिक प्रहरी महाशाखा कन्ट्रोल रुमबाट विहिवार साढे ११ बजेतिर ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुलाई फोन आयो । केन्द्रीय कन्ट्रोल रुमबाट फोन आउनुको पछाडि निकै संवेदिनशिल सूचना थियो । सूचना थियो – ड्राइभिङ लाइसेन्सको लागि भएको लिखित परीक्षाको प्रश्न पत्र आउट भयो ।
एकान्ताकुनास्थित यातायात व्यवस्था विभागमा लिखित परीक्षा चलिरहेको थियो । ९१७ जनाले लिखित परीक्षा दिइरहेका बेला आएको यस्तो फोनपछि ललितपुर ट्राफिक प्रहरी प्रमुख हाछेथ एक्सनमा आए । ‘जाँच भैरहेको बेला यस्तो सूचना पाएपछि एक किसिमले तनाव पनि भयो । अर्को किसिमले र्याकेटको पर्दाफाश गर्ने योजना पनि बनाएँ,’ हाछेथुुले सुनाए ।
कन्ट्रोेल रुमले हाछेथुुलाई प्रश्नपत्र आउट गर्ने गिरोहले कहाँ बसेर काम गरेको छ भन्ने सूचना पनि दिएको थियो । त्यहीँ सूचनाका आधारमा उनी कुसन्तीको एक गल्लीमा पुगे, आफ्नो टीम लिएर । कन्ट्रोल रुमले दिएको ‘लोकेशन’ मा पुग्दा वित्तिकै त्यहाँ आठ–नौ जना केटा देखिए । उनीहरुले जब ट्राफिकको गाडी देखे, सबै भाग्न थाले । तर, उनीहरुले कागजात चाहीँ त्यही छाडे । भाग्दाभाग्दै हाछेथुको युनिटले दुई जना केटालाई चाहीँ नियन्त्रणमा लियो ।
कन्ट्रोल रुमको सूचना सही सावित भयो । र, दुई जना पक्राउपछि थप अनुसन्धानको बाटो पनि खुल्यो । हाछेथुका अनुसार यसरी पक्राउ पर्नेमा भक्तपुर ठिमीका रत्नमान श्रेष्ठ र मनमैजु बस्ने उमेश माल थिए । जब त्यहाँ प्रश्नपत्र भेटिए, यातायात व्यवस्था विभागमा भैरहेको जाँचसँग पुरै मेल खाने खालका थिए । अर्थात प्रश्नपत्र पुरै योजनामा आउट थिए । हाछेथु भन्छन्, ‘यस्तो देखिएपछि प्रश्नपत्र आउट भएको शंका नै गर्न परेन ।’
ट्राफिक प्रहरी महाशाखाले पछिल्लो दिनमा लिखित परीक्षामा कडा गरेपछि चोरीका खेल शुरु भएको प्रहरीको बुझाई छ । अहिले लिखितमा एक पटक फेल भए तीन महिना कुर्नुपर्ने व्यवस्था छ ।
पक्राउ परेका युवालाई त्यहीँ गाडीमा हालेर सोधपुछ गरियो । उनीहरुले यो र्याकेटबारे केही सूचना दिए । युवाहरुले एकान्तकुनाको बेम्बो रेष्टुरेन्टबाट चार हजार रुपैयाँमा प्रश्नपत्र किनेको बताएका थिए ।
त्यसपछि प्रहरी युनिट रेष्टुरेन्ट पुग्यो । र, रेष्टुरेन्टकै मालिक नरेश गुरुङलाई पक्राउ गर्यो । प्रहरीका अनुसार गुरुङले तीनकुनेमा जेएन ड्राइभिङ इन्टिच्युट पनि चलाउँदा रहेछन् । प्रहरीका अनुसार गुरुङले आफ्नो ड्राइभिङ इन्चिष्युटमा आउने र अन्य इन्टिच्युटमा पनि सम्पर्क गरेर रेम्वु रेष्टुरेन्टमा सम्पर्क गर्न लगाउथे । र, त्यहीँबाट चार हजारमा प्रश्नपत्र आउट गर्थे र उक्तर पनि मिलाइदिने व्यवस्था गर्थे ।
ड्राइभिङ लाइसेन्स सम्बन्धी आबश्यक सोधपुछ पछि ट्रफिक प्रहरीले थप कारवाहीका लागि पक्राउ परेका युवा र रेष्टुरेन्ट मालिकलाई सातदोवाटो प्रहरी वृतमा बुझाएको थियो । सातदोवाटो प्रहरीले उनीहरु विरुद्ध मुद्दा चलाएको छ । तीनै जना म्याद थपपछि थुनामा छन् ।
यो यति ठूलो कारोवार देखिन्छ कि, झन्डै ४०० सय जनालाई मात्रै प्रश्न पत्र चार हजार रुपैयाँका दरले विक्री गर्ने हो भने पनि १६ लाख रुपैयाँको खेल हुन्छ । शनिवार र सार्वजनिक विदाका बाहेक हरेक दिन परीक्षा हुन्छ । यसरी महिनामा २० देखि २५ दिन सम्म परीक्षा हुन्छ । मानौँ, २२ दिन यही खालको खेल भयो र हरेक दिन चार सय जनलाई प्रश्न पत्र बेच्न पाइयो भने एक महिनामा प्रश्नपत्र आउट गरेबापत तीन करोड ५२ लाखको खेल हुन्छ ।
कसरी बन्छ प्रश्नपत्र
–ड्राइभिङ लाइसेन्सको प्रश्न पत्र यातायात व्यवस्था विभागले बनाउँछ ।
–ट्राफिक प्रहरीले परीक्षार्थी बसेपछि प्रश्नपत्र वितरण गर्ने काम गर्छ ।
के भन्छन् हाछेथु ?
–सवारी चालक अनुमतिपत्र लिने जीवनसँग जोडिएको विषय हो । ट्राफिक सम्बन्धी आधारभूत ज्ञान नभएका व्यक्तिले चोरेको भरमा लिएको लाइसेन्सका आधारमा सवारी चलाउदा दुर्घटनाको खतरा बढ्छ । यस्तो दुर्घटनामा चोरी गरेर लाइसेन्स लिएका व्यक्ति आफु त खतरामा हुन्छन नै, अन्य निर्दोष व्यक्तिलाई पनि उनले खतरामा पार्छन । यसकारण यो असाध्यै संवेदनशील विषय हो । यसमा ट्राफिक प्रहरीले कही पनि कम्परमाइज गर्दैन । कडाईपूर्वक एक्सन लिन्छ । सडक अनुशासन महत्वपूर्ण र जनसरोकारको विषय हो । अन्य सरोकारवाला निकायले यस्ता गलत काम रोक्न आ–आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ ।
यो प्रकरणले उठाएका प्रश्न ?
१। कसले बेच्छ प्रश्न पत्र ?
२। गोप्य मानिएका प्रश्नपत्र यातायातका कर्मचारीसँग मात्र हुन्छ, कसरी हुन्छ आउट ?
३। दैनिक १६ लाखको खेलमा को–को छन् सहभागी रु
४। पक्राउ परेका रेस्टुरेन्ट मालिक र युवा भुरा हुन्, ठूला माछा को हुन् ?
– साभार समचार