Sunday, September 27, 2026
Home Uncategorized आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

16

काठमाडौँ : जुलाई ३०, अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस। विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा मानव बेचबिखन जस्तो अपराधलाई न्यूनीकरण गर्ने उदेश्यसहित हरेक वर्ष जुलाई ३० तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ । नेपालले भने बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा २०६४ सालदेखि भदौ २० गतेका दिन मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ। यो वर्ष ‘मानव बेचबिखन संगठित अपराध हो- शोषण अन्त्य गरौं’ भन्ने विश्व नारा तय गरिएको छ ।

बेचबिखन पछाडिका शक्तिशाली आपराधिक सञ्जाललाई भत्काउनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ। जबरजस्ती श्रम, यौन शोषण र आपराधिक गतिविधिहरूमा बाध्य पार्न मानिसलाई बेचविखनमा पार्ने गरिएको भन्दै सीमापार सहयोग, सक्रिय अनुसन्धान र बेचबिखनकर्ताहरूको पहिचान र अभियोजन गर्न प्रविधिको प्रयोगलाई बलियो बनाउन आह्वान गरिएको छ । साथै, पीडितको अधिकारको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न जोड दिइएको छ। नेपालमा घरेलु हिंसामा परेका एकल महिला, बेसहारा, रोजगारीको खोजीमा भौँतारिरहेका महिला तथा युवती बेचविखनको जोखिममा पर्ने गरेको अधिकारकर्मी बताउँछन् । यौन व्यवसायका साथै घरेलु कामदार र श्रम शोषण, कृषि, कलकारखाना, उत्तेजक नाच, होटल रेष्टुरेष्ट, मसाज, पार्लर, सर्कस, माग्ने बनाउन, मानव अंग खरिदबिक्रीका लागि बेचबिखन ओसारपसार गरिने गरेको पाइएको छ। विगतमा भारतका विभन्न ठाउँ बेचबिखनका मुख्य केन्द्र हुने गरेकोमा अहिले नयाँ गन्तव्यका रूपमा कुबेत, साउदी अरब, बंगलादेश, चीन, दुबई, इराक परेका छन् ।