तीन पुस्ता बित्यो खानेपानी आएन

157

जाजरकोट । बाजेको पालादेखि लैखम गाउँका स्थानीयवासीले माग्दै आएको खानेपानी योजना नातिको पालासम्म पूरा हुन सकेको छैन । जिल्लाको सक्ला–१,लैखम गाउँका दुईसयभन्दा बढी खत्री परिवारले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा नभएको स्थानीयवासी रमेश केसीले बताए । प्रत्येक वर्ष योजना नमागेको कुनै परिषद् नै हुँदैन तर कहिले पनि यो योजनामा कसैको ध्यान नगएको उनले बताए । बाजे र बाबाले मागेको योजना नातिको पालासम्म माग्दा पनि पूरा नहुँदा आफू निकै दुःखी भएको केसीले पीडा पोखे । लैखम गाउँमा पानी ल्याउनका लागि स्थानीय नौपानी मूलबाट करिब चार किलोमिटर पाइप जडान गरेपछि मात्र स्थानीयवासीको गाउँमा पुग्ने छ ।योजना माग्नका लागि गाउँलेबाट रकम उठाएर सिंहदरबार गएर मन्त्रीलाई भने पनि मागको सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । कुरा गर्दा ठिक्क पार्छन् तर कार्यान्वयन कहिले पनि नभएको स्थानीयवासी प्रेम केसीले बताए । पानीको अभावमा यहाँका स्थानीयवासी घन्टाँै लगाएर खुल्लारुपमा बग्ने रिमखोलामा गएर मानिस र पशुचौपायासँगै पानी खाने गरेको केसीको भनाइ छ । २०५२ सालमा निर्माण गरिएको खानेपानीका धारामा अहिले पानी नै आउँदैन जहिले पनि उही पानीको पीडा, म अहिले ९० वर्षको भए, समाधान कहिले पनि हुँदैन, स्थानीय वृद्ध मुक्तिसरा खत्रीले आक्रोशित हुँदै भने । हामीले खानेपानीका लागि धेरै पटक नेतालाई भनेपनि हाम्रा नातिको पालासम्म खानेपानी नपाएको कपाल फुलेकी मुक्तिसराको भनाइ छ । यस ठाउँमा खानेपानी ल्याउनका लागि करिव रु ६० लाखभन्दा माथिको रकम भएमा मात्र सबै गाउँलेको बस्तीमा पानी पुग्ने देखिन्छ । सबै खत्री मात्र बस्ने यो गाउँमा अधिकांश स्थानीयवासी पशुपालन व्यवसाय गर्दै आएका छन् । पानीको अभावमा यहाँका किसानका जमिनमा एक मात्र बाली लगाउने गरिन्छ । खानेपानी नहुने लैखम गाउँमा शौचालयमा कसरी पानी पु¥याउन सकिन्छ ? स्थानीय शिक्षिका भावना वली खत्रीले प्रश्न गरिन ।