गाउँमा प्रहरी आउँदा दुःखी हुने यस्तो छ कारण

311

माघ १८,
पाल्पा । पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाले प्रहरी गाउँमा नै नपसिदिँदा जति खुसी हुन्छन्, त्योभन्दा धेरै गुणा दुःखी हुन्छन् गाउँमा प्रहरी पसेको मेसो पाएपछि । दोषनिर्दोष प्रहरीको होइन, गरिबीको कारण जीविकोपार्जनको हो । अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला प्रहरीदेखि सधैँ टाढा रहन चाहन्छन् । प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् । अवैधरुपमा घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला गाउँमा प्रहरी पस्दा आफू जोखिममा पर्ने भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने मन नगर्ने हुन् । आर्थिकरुपमा विपन्न मगर समुदायको बाहुल्य रहेको यस गाविसमा महिलाले रक्सी उत्पादन, बिक्री वितरणबाट जीविकोपार्जन गर्न खोज्दा जोखिम हुन्छ । उनीहरुलाई प्रहरीले जतिबेला पनि नियन्त्रण गर्नसक्ने भएपछि प्रहरीदेखि टाढा रहन चाहनु महिलाको बाध्यता हो । स्थानीय बासिन्दा प्रहरीले जतिबेला पनि आफूहरुलाई समात्न सक्ने भएकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन मान्दैनन् । रोजगारीको सम्भावना नभएपछि परिवार र बालबच्चालाई पढाइ लेखाइका लागि रक्सी बनाउन बाध्य हुनुपरेको उनीहरु बताउँछन् । खानीछाप गाविस–५, भालेबासका महिला साँझको बेला रक्सी पार्ने र रातको समयमा राम्दी क्षेत्रमा बिक्री वितरण गर्न लैजाने गरेको स्थानीय बताउँछन् । सरकारले अवैध मदिरा उत्पादन न्यूनीकरणतर्फ ध्यान दिन नसक्दा गाउँमा मदिरा सेवन गरी झगडा गर्ने बढेका छन् । राम्दी प्रहरी चौकीका प्रमुख भेषराज रेग्मी प्रहरीले गाउँ बस्ती स्तरमा पुगेर अवैध घरेलु मदिरा उत्पादन, बिक्री, वितरण कार्य सरकारले निषेध गरेकाले मदिरा उत्पादन रोक्न सचेतना कार्यक्रम सञ्चालन गरेको बताए ।