चक्रीय प्रणालीअनुसार राप्रपा अध्यक्षमा डा लोहनी

187

माघ ११,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि आजदेखि सकिएको छ ।
तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ –छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष हुनुभएका राणाले पनि छ महिनाको अवधि पूरा भएको छ । सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद आजदेखि लागू हुने गरी सकिएको हो ।
नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा लोहनीले राष्ट्रिय पदको जिम्मेवारी आजैदेखि लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौँ बाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज नबस्ने भएको छ । पार्टी महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने भएको छ । महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको छ । पार्टीको यही माघ ७ देखि १५ गतेसम्म देशभर वडा, गाउँ र नगरको अधिवेशन जारी छ ।
महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ ।