खुकुरी हान्ने लक्ष्मण मल्ल सार्वजनिक

298

२६ पुस,
बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।
गत पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युतरोड नजिकै रहेको वेलकम कटेजमा युवा संघका केन्द्रीय सदस्य बुढाथोकीलाई खुकुरी प्रहार गरी मल्ल फरार भएका थिए ।
फरार मल्ललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ‘खुकुरी प्रहार भएको २५ मिनेटपछि मात्रै हामीलाई घटनाबारे थाहा भयो ।’ प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने – ‘घाइतेसँग तत्कालै लिइएको बयानअनुसार हामीले फरार मल्लको खोजी र घटनाको अनुसन्धान थालेका हौंँ ।’ घटना भएको १० दिनपछि आरोपी मल्ललाई पुस २३ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले थप ११ जनालाई हिरासतमा लिएको जनाएको छ । घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ ।
-रासस