काठमाडौं । देशभरका सरकारी अस्पतालले महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क परीक्षण सेवा दिने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ । नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिएको छ । मन्त्रिपरिषद्को गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सृष्टि प्रजापतिका अनुसार यस संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यसको भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ÷दश वर्षपछि क्यान्सरमा परिणत हुन्छ । परिक्षण पाँच मिनेटदेखि १५ मिनेटमा गर्न सकिन्छ । प्याप स्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै सो परीक्षण महिनावारी भएका बेला गर्न मिल्दैन। परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन । परीक्षण ३५ वर्षदेखि ६० वर्षका महिलाले वर्षको कम्तीमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ ।