राष्ट्रिय खेलकुदमा ३ हजार ९७२ खेलाडी सहभागी हुने

186

पुस ५,
बिराटनगर । पूर्वाञ्चलका बिभिन्न जिल्लामा पुस ८ देखि १५ सम्म आयोजना हुने सातौं राष्ट्रिय खेलकुदको तयारी पूरा भएको छ । १७५३ पुरुष र ११६१ महिला खेलाडीहरु छनौटमार्फत सहभागी हुनेछन् भने ५५० पुरुष र ५०८ महिला खेलाडीहरु प्रत्यक्ष सहभागी हुने राखेप सदस्य सचिव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । प्रतियोगितामा २६८ स्वर्ण २६८ रजत र ४१६ कास्य पदक गरी कुल ९५२ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्रीय छनौट चरणका खेल सम्पन्न्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाइ सातौंमा समावेश गरेको छ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको र अव कुनैपनि खेल र खेलस्थान परिवर्तन नहुने प्रष्ट पारे । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये ३१ खेलको मात्रै मेडल गणना हुनेछ । स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङ लगायत चार खेलको न्यूनतम टिम नपुगेको परिषदले यसअघि नै बताइसकेको छ । त्यस्तै तीन खेलहरु अघिल्लो बर्ष नै सम्पन्न भइसकेका छन् । स्वीमिङ, शारीरिक सुगठन, ट्रायथलन, एथ्लेटिक्सको म्याराथन यसअघि नै भइसकेका छन् प्रतियोगिताका धेरैजसो खेलहरु सुनसरी झापा र मोरङमा आयोजना हुनेछन् । सिराहा, सप्तरी, इलाम, उदयपुर धनकुटा, ललितपुर र काठमाडौंमा पनि केहि खेलहरु खेलाइनेछन् ।