लक्ष्मण थारुले कारागारबाटै गच्छदारको पार्टी छाडे

217

धनगढी । आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेको भन्दै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता परीत्याग गरेको घोषणा गरेका छन् । कैलाली कारागारमा रहेका उनले पार्टीको सदस्यबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने मनसाय व्यक्त गरेका छन् । पार्टीको सदस्यता त्याग गरेकोसम्बन्धी जानकारी फ्याक्समार्फत सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको छ । स्वतन्त्र जीवनयापन गर्दा कानुनी उपचारका साथै अनुसन्धान एवम् छानबिन गर्न सजिलो समेत हुने भएकाले समेत पार्टीको सदस्यता त्यागेको थारुले बताए । झन्डै १७ महिना अघि कैलालीको टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान जानेगरी भएको घटनाको आरोपमा पक्राउ परेका लक्ष्मण थारुसहित २५ जना कैलाली कारागारमा जेल जीवन बिताइरहेका छन् ।