Thursday, November 19, 2026
Home राजनीति रास्वपा चाँगुनारायणको माग: नगरकोट भ्रमण वर्षको हिसाबकिताब सार्वजनिक होस्

रास्वपा चाँगुनारायणको माग: नगरकोट भ्रमण वर्षको हिसाबकिताब सार्वजनिक होस्

1

भक्तपुर । स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरकोट भ्रमण वर्ष २०८२ को प्रगति विवरण तथा आय–व्ययको यथार्थ हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै चाँगुनारायण नगरपालिकाको ध्यानकर्षण गराएको छ ।
बिहीबार नगर समितिका सभापति रोशन थापा नेतृत्वको टोलीले नगर प्रमुख जिवन खत्री सामू ध्यानकर्षण पत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै रास्वपाले भ्रमण वर्षको कार्यान्वयन अवस्था, उपलब्धि र आर्थिक खर्चप्रति आम नगरवासीमा गम्भीर चासो र संशय उत्पन्न भएको भन्दै तत्काल विवरण सार्वजनिक गर्न माग गरेको छ ।
संविधानप्रदत्त नागरिकको सूचनाको हक, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सुशासन ऐन, २०६३ बमोजिम सार्वजनिक कोषबाट सञ्चालित कार्यक्रमको पारदर्शिता सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको ज्ञापनपत्रमा उल्लेख छ ।
रास्वपाले नगर प्रमुखसमक्ष राखेका ५ बुँदे मागहरूमा भ्रमण वर्षको स्वीकृत कार्ययोजना, पर्यटक आगमनको तथ्याङ्क र भौतिक तथा गुणात्मक उपलब्धिको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख छ । त्यस्तै, कार्यक्रमका लागि विनियोजित कुल बजेट, बजेटका स्रोत र प्रचारप्रसार, पूर्वाधार, सभा–समारोह तथा अतिथि सत्कार लगायतका शीर्षकमा भएको यथार्थ खर्च विवरण सार्वजनिक गर्न माग गरिएको छ ।
यसैगरी, भ्रमण वर्षका क्रममा गरिएका सम्पूर्ण खरिद, ठेक्कापट्टा, सम्झौता तथा भुक्तानी प्रक्रियाका आधिकारिक कागजात, खर्च पुष्टि गर्ने बिल–भरपाई, भौचर तथा आन्तरिक र बाह्य लेखापरीक्षण प्रतिवेदनसमेत सार्वजनिक गर्न रास्वपाले आग्रह गरेको छ ।
कार्यक्रमको समग्र प्रभावकारिता र आर्थिक पारदर्शिताबारे आम नगरवासी, सरोकारवाला निकाय, नागरिक समाज र राजनीतिक दलहरूको प्रत्यक्ष उपस्थितिमा अविलम्ब सार्वजनिक सुनुवाइ तथा सार्वजनिक लेखापरीक्षणको व्यवस्था मिलाउनसमेत समेत माग गरिएको छ ।
ध्यानाकर्षण पत्रको मूल मर्म कुनै व्यक्ति वा संस्थाप्रति पूर्वाग्रह राख्नु नभई जनताको करबाट संकलित सार्वजनिक कोषको एक–एक पैसाको हिसाब पारदर्शी हुनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता स्थापित गर्नु रहेको नगर सभापति थापाले स्पष्ट पारेका छन् ।