रामचन्द्र पौडेलले आमरण अनसनमा बस्नु भएका गंगामायालाई भेटे

618

असार १९,
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनसनमा बस्नु भएका गंगामाया अधिकारीको माग तत्काल सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता पौडेलले मंगलबार बिहान वीर अस्पतालको आईसियूमा राखिएकी गंगामायाको स्वास्थ्य अवस्था बुझेपछि तत्काल उनको माग सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्। द्वन्द्वकालमा हत्या गरिएका छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्थ जटिल भएपछि आईसियूमा राखिएको छ। वरिष्ठ नेता पौडेलले अमानवीयताको परकाष्ठा भएको भन्दै गंगामायालाई न्याय दिन ढिलाई नगर्न नहुने पनि स्पष्ट पारे। उनले छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेका गंगामायाको पति नन्दनप्रसाद अधिकारीको पनि वीर अस्पतालमै ज्यान गएको स्मरण गराउँदै पीडितलाई न्याय दिन सरकारसँग जोडदार माग गरे। वरिष्ठ नेता पौडेलले गंगामायाको छोराको हत्यारालाई संरक्षण गर्ने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सचेत गराए। छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा पछिल्लो पटक गंगामायाले आमरण अनसन सूरु गरेको ३६ दिन पुग्दा पनि सरकारले बेवास्ता गरेपछि मानव अधिकारीकर्मीहरुले पनि उनको ज्यानको सुरक्षाको माग गर्दै सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन । सरकार गंगामायालाई न्याय दिन तयार नभएको मानव अधिकारवादीको गम्भिर आरोप छ । छोरा कृष्ण प्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन माओवादीले लिएपनि दोषीमाथि कार्वाही हुन सकेको छैन । छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेका गंगामायाका पति नन्दनप्रसादको पनि वीर अस्पतालमै ज्यान गएको थियो ।