काठमाडौं । १३ वर्षअघि भएको रक्तचन्दन तस्करीमा ठेगाना नखुलेको भनेर मुद्दा नचलाइएका एक व्यक्तिलाई अहिले अदालत उपस्थित गराउन पत्राचार गरिएको छ । अहिले ठेगाना खुलेको हुनाले मुद्दाका प्रतिवादी बनाएर अदालत उपस्थित गराउन भनिएका व्यक्ति हुन्, दोलखाका नवीनराज बस्नेत । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा उनी १३ वर्ष पहिले (९ वैशाख २०७० साल) भएको रक्तचन्दन तस्करीका फरार व्यक्ति रहेको खुलेको छ । १३ वर्षपछि अहिले ठेगाना खुलेको भनिएका बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग निकट रहेर काम गरेका ठेकेदार नवीनराज बस्नेत नै रहेकोसमेत खुलेको छ ।














