अमेरिकाको ट्राभल एडभाइजरी : सकभर नेपाल यात्रा नगर्नू, गर्नै परे सावधान रहनू

10

काठमाडौँ : अमेरिकाले नेपालको आकस्मिक स्वास्थ्य सेवा र अन्य स्वास्थ्य सेवाको उपलब्धताको बारेमा प्रश्न उठाएको छ। नेपाल स्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई जारी गरेको ट्राभल एडभाइजरीमा नेपालको स्वास्थ्य सेवा र आकास्मिक स्वास्थ्य सेवाको उपलब्धताबारे प्रश्न उठाउँदै आफ्ना नागरिकलाई सचेत गराएको हो। अमेरिकाले जारी गरेको उक्त ट्राभल एडभाइजरीमा नेपालका स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन गर्ने क्षमता सीमित रहेको उल्लेख गरिएको छ। विशेषगरी गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएमा आवश्यक उपचार तत्काल उपलब्ध नहुन सक्ने भन्दै यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ। एडभाइजरी अनुसार काठमाडौंका अस्पतालहरू नेपालका अन्य क्षेत्रको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि ती अस्पतालहरूमा भीडभाड हुने, आवश्यक केही उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै शुल्क भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख छ।

‘चिकित्सा सेवाहरूसँग नियमित र आपतकालीन हेरचाह ह्यान्डल गर्ने सीमित क्षमता छ। थप जानकारीको लागि यस पृष्ठमा यात्रा मार्गदर्शनको स्वास्थ्य खण्ड समीक्षा गर्नुहोस्। काठमाडौँका अस्पतालहरू सामान्यतया अन्य क्षेत्रहरू भन्दा राम्रो हुन्छन्’, ट्राभल एड्भाइजरीमा भनिएको छ, ‘तर तिनीहरू भीडभाडयुक्त हुन सक्छन्, केही उपकरण वा औषधिहरूको अभाव हुन सक्छ र प्रायः उपचार गर्नु अघि भुक्तानी गर्न सोध्छन्। विदेशीहरूको चिकित्सा उपचारको लागि नेपाल सरकारले भुक्तानी गर्दैन।’विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था नरहेको भन्दै अमेरिकी नागरिकलाई यात्रा गर्नुअघि पर्याप्त स्वास्थ्य बीमा गर्न पनि सुझाव दिइएको छ। विशेषगरी मेडिकल इभ्याकुएसन (चिकित्सकीय उद्धार) समेत समेटिएको यात्रा स्वास्थ्य बीमा लिन अमेरिकी सरकारले आग्रह गरेको छ।

गम्भीर स्वास्थ्य समस्या देखिएमा नेपालमै आवश्यक उपचार सम्भव नहुन सक्ने र उपचारका लागि अर्को देश जानुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत एडभाइजरीमा दिइएको छ। यस्तै नेपाल भ्रमणमा आउनै पर्ने आफ्ना नागरिकहरुलाई अमेरिकाले यात्राका क्रममा नियमित रूपमा प्रयोग गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमै राख्न र नेपालमा उपचार सेवाको सीमिततालाई ध्यानमा राखेर यात्रा योजना बनाउन अमेरिकी सरकारले सुझाव समेत दिएको छ। यस्तै अमेरिकाले आफ्ना नागरिकहरुलाई नेपालको नदीको किनार, तल्लो क्षेत्र, क्षतिग्रस्त पुल र अस्थिर भिरालो ठाउँबाट टाढा रहन, नेपाली अधिकारीहरूबाट निकासी आदेश र सुरक्षा निर्देशनहरू पालना गर्न पनि भनेको छ। यस्तै हराएको व्यक्तिको खोजी गर्न स्वतन्त्र रूपमा प्रकोप क्षेत्रमा प्रवेश नगर्न पनि भनेको छ। कुनै पनि कारणले प्रकोप क्षेत्रमा यात्रा नगर्न समेत सुझाव दिएको छ।