काठमाडाैँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको एक महिने बारिष्टा तालिम सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडिएस) को समन्वयमा आयोजित तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको हो। एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडी, ब्लु डायमण्ड सोसाइटीकी पूर्वअध्यक्ष पिङ्की गुरुङ र अध्यक्ष उमेश पाण्डे (उमेशा)ले प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा दवाडीले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यक्रमअन्तर्गत कम्तीमा ४० प्रतिशत सहभागिता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट सुनिश्चित गर्ने नीति लिइएको जानकारी दिए। यसअघि समुदायका लागि नेपालमै पहिलो पटक ट्रेकिङ गाइड तालिम सञ्चालन गरिएको स्मरण गराउँदै उनले हाल बारिष्टासँगै स्पा तथा मसाजसम्बन्धी तालिम पनि सञ्चालन भइरहेको बताए। तालिमपछि सहभागीलाई रोजगारीसँग जोड्ने, सामूहिक रूपमा स्पा सेन्टर स्थापना गर्ने तथा पर्यटन क्षेत्रका विभिन्न सेवा प्रदायकसँग समन्वय गरी रोजगारीका अवसर विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। उनले सहभागीलाई होटल, रेस्टुरेन्टलगायतका क्षेत्रमा आफैँ पनि सक्रिय रूपमा रोजगारी खोज्न आग्रह गरे।














