कर्णालीमा बेपत्ता गाडीको खोजी जारी

2

काठमाडौं । कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक बसको खोजी कार्य जारी रहेको हो । बिहीबार बिहान ८ बजे सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो।
प्रहरीका अनुसार गाडी सुर्खेतबाट छुट्दा तीन जना यात्रु सवार थिए भने दैलेखको डुङ्गेश्वरबाट थप दुई जना चढेका थिए। चालक र सहचालकसहित गाडीमा हालसम्म आधिकारिक रूपमा सात जना सवार रहेको पुष्टि भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजीमा परिचालन भएका छन्। बिहीबार करिब पाँच घण्टासम्म खोजी गर्दा पनि गाडी वा बेपत्ता यात्रु फेला नपरेपछि पुनः खोजी अभियान सञ्चालन गरिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढेको, बहाव अत्यन्त तीव्र रहेको तथा पानी धमिलो भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ। घटनास्थलमा सिधै पुग्ने बाटो नभएकाले उद्धार टोली अछामतर्फबाट परिचालन गरिएको उनले जानकारी दिए।
दुर्घटनामा भीरमा अड्किएका एक पुरुषलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।