काठमाडौँ: सरकारले भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्राडा योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेकोमा आठ जनाको आवेदन परेको थियो।
यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो, जसमा प्राडा सिंहसहित डाअजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। यसमध्ये प्राडा सिंहलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो। डा.सिंहका अनुसार आफूलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको जानकारी पाएको तर पत्र नबुझेको बताए। ‘नियुक्त गरेको जानकारी पाएको छु तर पत्र बुझेको छैन। अब भोलितिर पत्र बुझेर अस्पतालमा पुगेर जिम्मेवारी समाल्छु’, डा सिंहले भने। वरिष्ठ क्यान्सर रोग समेत रहेका डा. सिंह त्रिवि शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवापछि केही बर्ष अघि मात्रै अवकाश भएका हुन्। शिक्षण अस्पताल परिसरमा रहेको सुरेश वाग्ले स्मृति क्यान्सर सेन्टर स्थापना र सञ्चालनमा उनको मुख्य योगदान मानिन्छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसी निकट मानिने डा सिंह हालसम्म विवादमा नआएका र विज्ञ चिकित्सक मानिन्छन्।














