
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुगेको छ । भूकम्पमा परी अरु ९ सय ७१ जना घाइते भएका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परी व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन् ।बुधबार बेलुकीपख गएका ७।२ र ७।५ म्याग्निच्युडका दुई वटा शक्तिशाली भूकम्प भेनेजुएलाको इतिहासमा एक शताब्दीभन्दा बढी समयपछिकै सबैभन्दा ठूला र विनाशकारी मानिएका छन्। भूकम्पको धक्का भेनेजुएलाका अधिकांश स्थानका साथै आसपासका छिमेकी देशहरूमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण ठूला र बहुतले भवनहरू भत्किँदा कैयौँ मानिसहरू भग्नावशेषमा पुरिएका छन् ।













