मध्यपुर थिमि नगरपालिकाको बजेटः ३ अर्ब ७१ करोड ८७ लाख

3

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार नगरपालिकाको १४औं नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजारको बजेट ल्याएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, सामाजिक सुरक्षा तथा सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाले गुणस्तरीय शिक्षा विस्तार, विद्यालय पूर्वाधार सुदृढीकरण तथा आधुनिक शैक्षिक वातावरण निर्माणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

स्वास्थ्य क्षेत्रअन्तर्गत नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने नीति लिइएको छ। महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति तथा आर्थिक रूपमा कमजोर वर्गको उत्थानका लागि विभिन्न सामाजिक विकास कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख श्रेष्ठले जनाए । साथै मध्यपुर थिमि आफ्नो समृद्ध सांस्कृतिक पहिचान, ऐतिहासिक सम्पदा तथा मौलिक सभ्यताका लागि परिचित नगर भएकाले ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवा, बहाल–बही, देवस्थल तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनःनिर्माण र प्रवर्द्धनका लागि विशेष कार्यक्रम तथा बजेट व्यवस्था गरिएको छ। सांस्कृतिक पर्यटन प्रवर्द्धन गरी स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। नगरसभाले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा तथा सामाजिक सहभागिता अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए ।

तस्विरः पवन सिबन्जा श्रेष्ठ